

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले गैरकानुनी रुपमा १२२ जनालाई करार सेवामा नियुक्ति गरेको भेटिएको छ । कानुनले नियुक्ति दिनै नमिल्ने भनेको पदमा समेत आफ्ना आपेपासेलाई नियुक्ति दिएको भेटिएको हो ।
आर्थिक वर्ष २०७९।८० सालको महालेखा परीक्षकको प्रतिवेदनले मीठाराम अधिकारी निर्वाचित भएर आएपछि सो संख्यामा नियुक्ति दिएको देखाएको हो । स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते सम्पन्न भएको थियो । त्यसपछिको साउनदेखि २०८० को साउनसम्मको प्रतिवेदन अनुसार आर्थिक वर्षमा स्वास्थ्य अधिकृत, सूचना प्रविधि अधिकृत, छौटौं स्तरका इन्जिनियर, प्राविधिक सहायक, सहायक पाँचाँैस्तरका सिभिल इन्जिनियर, कार्यालय सहायक,कम्प्युटर अपरेटर लगायतका विभिन्न पदहरुमा १२२ जना नियुक्त गरेको भेटिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार यी कुनै पनि पदमा करार सेवामा नियुक्ति गर्न मिल्दैन ।
सो ऐनले नगर प्रहरी, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली र सरसफाई सम्बन्धी पदमा मात्र आवश्यकता हेरी करार सेवामा नियुक्ति गर्न सकिने उल्लेख गरेको छ । सो ऐनको दफा ९(१४) मा यस्तो करार पनि अन्य संस्थासँग करार सम्झौता गरेर नियुक्ति दिन सक्ने उल्लेख छ । तर यहाँ नियमविपरीत व्यक्तिसँग नै करार गरेर उनीहरुलाई नियुक्ति दिइएको भेटिएको हो ।
यसरी नियुक्ति गरिएकाहरुले लोकसेवा आयोग पढेर आएका कर्मचारीहरुलाई समेत छायामा पार्नेगरी हालिमुहाली गर्नेगरेको आरोप पनि लाग्दै आएको छ ।