काठमाडौं । न्युरोडमा रातारात पिच गरेर काठमाडौं महानगरपालिकालाई चुनौती दिएको सडक विभागले न्युरोडमा सडक विस्तार रोक्ने कार्यसम्बन्धी मुद्दा हारेको छ । सडक डिभिजन कार्यालयले महानगरलाई पत्र लेख्दै फुटपाथ विस्तार नगर्न भनेको विरोधमा काठमाडौं महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा सडक कार्यालयको पत्र कार्यान्वयन नगर्नू भन्ने आदेश दिएसँगै महानगरपालिका फुटपाथ विस्तार गर्न सहज भएको हो । उच्च अदालतले सडक डिभिजन कार्यालय काठमाडौंले गत जेठ १३ गते र १६ गते महानगरपालिकालाई पठाएको पत्र यो रिटको अन्तिम टुंगो नलाग्दासम्म यथास्थितमा राख्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।