

काठमाडौं । आज आइतबार काठमाडौं लगायत बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बिहान ६ बजेको बुलेटिनमा यस्तो उल्लेख गरिएको हो । विभागका मौसमविद्हरूका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । विभागका अनुसार काठमाडौंमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ ।