

काठमाडौं । देशभर रहेका कुल ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका विकास खर्च गर्नमा सबैभन्दा कमजोर देखिएको छ । यो आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन अर्थात् असार २४ गतेसम्मको खर्च विवरण अनुसार काठमाडौं महानगरपालिकालिकाले करिब ४२ प्रतिशत खर्च गर्दै सबैभन्दा कमजोर स्थिति प्रदर्शन गरेको हो । सँगैको ललितपुर महानगरपालिकाले झण्डै दोब्बर अर्थात् ८१ प्रतिशत विकास खर्च गरेकोमा काठमाडौं महानगरपालिका झण्डै आधा हिस्सा खर्च गरेको हो ।
महानगरपालिकाको कुल खर्चमा भने महानगरपालिकाले ५० प्रतिशतभन्दा बढी खर्च गरेको छ । काठमाडौं महानगरले चालु आव असार तेस्रो सातासम्म कुल बजेट २४ अर्ब १९ करोड ८४ लाखको ५१.०४ प्रतिशत अर्थात् १२ अर्ब ३५ करोड २७ लाख खर्च गरेको हो । यस्तै, महानगरले चालु खर्च ६४.४ प्रतिशत गरेको छ । चालु खर्चतर्फ ९ अर्ब ५ करोड बजेट विनियोजन भएकोमा महानगरले ५ अर्ब ८३ करोड खर्च गरेको हो । १५ अर्ब १० करोड १० लाख छुट्याएकोमा खर्च ६ अर्ब ३९ करोड ६१ लाख अर्थात् ४२.३५ प्रतिशत खर्च गरेको हो । त्यस्तै, वित्तीय व्यवस्थातर्फ पाँच करोड विनियोजन गरेकोमा शतप्रतिशत खर्च भएको छ। तर पुँजीगत खर्च १५ अर्ब १० करोड रूपैयाँ छुट्ट्याएकोमामा ६ अर्ब ३९ करोड रूपैयाँ मात्रै खर्च गरेको हो ।
त्यस्तै, सबैभन्दा अब्बल रहेको ललितपुरले कुल पुँजीगत खर्चको ८१ प्रतिशत खर्च गरेको छ । ललितपुर महानगरले चालु वर्षका लागि ६ अर्ब ५० करोड रूपैयाँको बजेटमा ८३ प्रतिशत कार्यान्वयन गरेको छ। महानगरका अनुसार चालु वर्षमा ५ अर्ब ३९ करोड रूपैयाँ बजेट खर्च भएको छ। गत वर्ष ललितपुर महानगरपालिकाले ५८ प्रतिशत मात्रै बजेट खर्च गरेको थियो । ललितपुरको पुँजीगत खर्च पनि अरूको तुलनाम उल्लेख्य छ। यसले चार अर्ब रूपैयाँको पुँजीगत खर्च विनियोजन गरेकामा करिब तीन अर्ब २४ करोड खर्च गरेको छ। यो विनियोजन गरेको रकममा ८१ प्रतिशत हो।
पुँजीगत खर्चतर्फ दोस्रो स्थानमा रहेको पोखरा महानगरले पुँजीगत बजेटको ६८ प्रतिशत, विराटनगर महानगरपालिकाले ६५ प्रतिशत, वीरगञ्जको ६३ प्रतिशत र भरतपुर महानगरपालिकाले कुल पुँजीगत बजेटको ५१ प्रतिशत खर्च गरेको छ ।