काठमाडौं । काठमाडौंको भद्रकालीमा रहेको भद्रकाली मन्दिर पुरानो नेवारी शैलीमा बन्ने भएको छ । बिहीबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भद्रकाली मन्दिर परिसर पुनःनिर्माणको उद्घाटन गरेकी छन् । ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण सुरु गरिएको हो । पुरातत्व विभागले बेलायती शैलीमा बनाउन जोडबल गरिरहेको भद्रकालीको भवन प्राचीन नेवारी शैलीमा बनाउन लागिएको महानगरपालिकाका प्रमुख बालेन शाहले जानकारी दिए ।
विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । कामपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको ठेक्का पाएको छ । कामपाले निर्माण पक्षसँग गत जेठ ६ गते सम्झौतागरी यही असार ३ गते कार्यादेश दिएको छ । यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ ।
उत्तर (भृकुटीमण्डप) तर्फ दुई वटा ब्लक आपसमा जोडिने जनाइएको छ । दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोलपम्पतर्फ) तीन वटा ब्लक हुने र यिनीहरु पनि आपसमा जोडिएको हुने महानगरले जनाएको छ । यसरी पुनःनिर्माण हुने भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुने जनाइएको छ । यसको डिजाइन कामपा सहरी योजना आयोगले तयार पारेको हो ।