काठमाडौं । २०८० सालमा दिइएको एसईई नतिजामा बुढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ । निजी विद्यालयहरूको उत्कृष्ट नतिजा आइरहँदा सामुदायिक विद्यालयले भने उत्कृष्ट १० मा पनि पर्न नसकेका हुन् ।
काठमाडौं जिल्ला शिक्षा समन्वय समितिले जारी गरेको विश्लेषित प्रतिवेदन अनुसार सामुदायिक विद्यालयको अवस्था दयनीय देखिएको हो । बुढानीलकण्ठ नगरपालिकामा वडा नं ११ मा रहेको दीक्षालय नेपाल फाउन्डेसनले औषतमा ३.८३ जीपीए ल्याएको छ ।
प्राविधिक धारतर्फको बालउद्दार मावि कपनले औषतमा ३.७२ जीपीए ल्याएको भए पनि सामान्य सामुदायिक विद्यालयतर्फको कपनकै बालउद्दार माविले भने जम्मा ३.११ जीपीए ल्याएको उक्त प्रतिवेदनमा उल्लेख छ । सामान्यतर्फको सामुदायिक विद्यालयले औषतमा ३ जीपीए ल्याउन पनि मुस्किल रहेको देखिएको हो । प्राविधिक धारतर्फकै कपनको ग्रामशिक्षा मन्दिर माविले पनि औषत ३.३१ जीपीए ल्याएका छन् ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमी औसत जिपिएका आधारमा दोश्रो स्थानमा रहेको छ भने नेसनल ब्लुमिंग फ्लावर एकेडेमी तृतीय स्थानमा रहेको छ। औषत जीपीएको आधारमा धेरै ल्याउने विद्यालयहरूमा निजी विद्यालयकै बाहुल्यता रहेको छ । बुढानीलकण्ठमा पर्ने धेरै जीपीए ल्याउने विद्यालयको सूचीमा बुढानीलकण्ठ स्कुल छैटौं स्थानमा रहेको छ । सो स्कुलले औषतमा ३.६९ जीपीए ल्याएको छ । त्यस्तै, रिलायन्स इन्टरनेसनल एकेडेमीको ३.७६, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीको ३.७२, फेरिल्यान्ड इन्टरनेसनल एकेडेमीको ३.७१, काठमाण्डौ विद्यालयको ३.७१, बुढानिलकण्ठ स्कुलको ३.६९, जोसेफ माविको ३.६८, वेदव्यास विद्याश्रम बोर्डिङ्ग स्कुलको ३.६५, रिलायन्स पाब्लिक स्कुलको ३.६५ र थ्री स्टार एकेडेमीको ३.६० आएको बताइएको छ ।
त्यस्तै, सामुदायिकतर्फ यज्ञमति सेकेण्डरी स्कुल कपनको २.८८ जीपीए, जनजागृति माध्यमिक विद्यालय २.७२ जीपीए ल्याएका छन् ।
अन्य सामुदायिक विद्यालयहरूको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्