काठमाडौं । कपनको खहरेको सम्बन्धमा भ्रामक प्रचार गरिएकोप्रति गगन थापाको सचिवालयले आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सचिवालयले विभिन्न युट्युबरहरूले सस्तो टीआरपीका लागि भ्रामक सूचना प्रेसित गरेर जनतालाई भ्रममा पार्न खोजेको भन्दै त्यस्ता सूचनाको पछि नलाग्न पनि सरोकारवालाहरूसँग आग्रह गरेको छ ।
गत वर्ष काठमाडौं महानगरपालिकाले खोला खुला रहने भन्दै महानगरपालिकातर्फ डोजर चलाएर त्यसै छाडेको थियो । यदि त्यस्तै छाडेको अवस्था अहिले रहेको भए डुबानको झनै भयावह अवस्था रहने भन्दै सचिवालयले चासो दिएर खोलाको पानी दायाँबायाँको बस्तीमा पस्न नदिने गरी काम सम्पन्न गरिएको थियो । सचिवालयले सो ठाउँमा सचिवालयको योजना पनि जारी रहेको भन्दै महानगरले भत्काएको ठाउँमा पनि सम्भावित दुर्घटना नहोस् भनेर नियमित काम गर्दै आएको सचिवालयले जनाएको छ ।
सचिवालयले कुनै राजनीतिक अभिष्ट पूरा गर्नका लागि कुनै पनि व्यक्तिको चरित्रहत्यामा नउत्रिन पनि सबै समक्ष आग्रह गरेको छ । ७५ वर्षयताको ठूलो वर्षा भइरहँदा समेत कपनमा पहिलेको जस्तो समस्या नभएको भन्दै यसको सुधारको काम भइरहेको भन्दै कपन क्षेत्र मात्र डुबानमा परेको जस्तो भाष्य प्रयोग नगर्न पनि सचिवालयले आग्रह गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ : ‘बुनपातर्फ आनीगुम्बा पछाडिदेखि सुरू भएको कल्भर्ट आरम्भ चोकसम्म हुनेमा (हाल गौरीशंकर चोकसम्म सम्पन्न भएको) बुनपातर्फ कल्भर्ट यथावत् रहने योजना निरन्तरता रहन्छ । आरम्भ चोकमा रहेको मंगलले गर्दा चौकीबाट आएको ढल फिर्ता भएको भनी स्थानीयको माग आएको हुँदा सो मंगल( ढलान) फुटाएर पानी खुलाउने काम भएको जानकारी गराउँदछौं ।’