काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट पारित गरेको छ । मंगलबार राष्ट्रियसभा गृहमा बसेको १५औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट संशोधनसहित सर्वसम्मत पारित भएको हो ।
महानगरपालिकाले यही असार १० गते आर्थिक वर्ष २०८१/८२ का लागि रु २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै रु १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।
बैठकमा नगरप्रमुख बालेन्द्र साहले पेस गर्नुभएको संशोधित नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मत पारित गरेका हुन् । बैठकमा नगरसदस्यले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए । नगरप्रमुख साहले नगरसदस्यको उठाएको विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने विश्वास व्यक्त गरेका थिए । बजेटमा तीन दलका प्रतिनिधिहरूले संयुक्त रूपमा राखेको संशोधन प्रस्ताव समेटिएपछि यो बजेट पारित भएको हो ।