काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका मौलिक र परम्परागत गायन र वादनलाई जोगाउन वडाहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । स्वर्णीम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत वडा नं. ५, ६, ८, १५, १८, २३ र २६ मा कार्यक्रम गायन, वादन तथा नृत्य कार्यक्रम भएको हो ।
सोही कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका वडा-८ को पशुपति भुवनेश्वरी डवली, इँट्टापाखा, दथु टोल, जयबागेश्वरी परिसर, नवाली टोल, तिलगङ्गा तथा पशुपति परिसरमा रहेको घ्याम्पे सत्तलमा कार्यक्रम सम्पन्न भएको काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा-८ का वडा अध्यक्ष आशामान संगतले बताए । उनले विशेषगरी डवली तथा पाटीमा कलाकारले प्रस्तुति दिएको बताए ।
यस क्रममा वडा नं. १८ ले ताम्सिपाखा, पुष्पलाल पार्क, बाङ्गेमुढालगायत स्थानमा, वडा नं. ८ ले पशुपति भुवनेश्वरी डवली, इट्टापाखा, दथु टोल, जय बागेश्वरी परिसर, नवाली टोल, तिलगंगा, पशुपति परिसरमा रहेको घ्याम्पे सत्तल कार्यक्रम गरिएको थियो । यस्तै वडा नं. १५ को स्वयम्भू भुइँखेल, वडा नं. ५ को हाँडीगाउँ डवली, वडा नं. ६ को वौद्ध, वडा नं. २३ को झोँछे, वडा नं. २६ को भगवान वहाल, ठमेललगायत स्थानमा कार्यक्रम आयोजना गरिएका थिए ।
काठमाडौँ महानगरपालिका कला, भाषा, जात्रा, पर्व, मेला, अमूर्त सम्पदाको सङ्ग्रहालय रहेको बताउँदै उनले धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेकाले विभिन्न चाड पर्व, जातजाति, रितिरिवाज र चालचलनको विविधताभित्र एकता रहेको उल्लेख गरे । उनले कला, संस्कृतिको जीवन्त इतिहास तथा प्राचीन विशिष्ट शैलीको निर्माणका कारण विश्वकै दर्शनीय स्थलमध्येको एक सहरका रूपमा काठमाडौँ परिचित रहेको पनि बताए ।
उनले विशेषगरी सम्पदा तथा पर्यटन विभागको तदारूकतामा बाजा गाजाको संरक्षणार्थ विभिन्न कार्यक्रमहरू भइरहेको बताउँदै सांस्कृतिक कार्यक्रममा धिमे बाजा, बाँसुरी, नाय्खीं, धाः धिमे, पछिमा, खिं, मादल, नाय खिं, भुस्या, ताः चिम्ता बबुचा छुस्यालगायतका बाजा समेटेर कार्यक्रम प्रस्तुत गरिएको बताए ।