काठमाडौं । बाढीको जोखिम बढेसँगै काठमाडौंका नदी किनारमा प्रहरीले नियमित गस्ती बढाएको छ । काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती बढाएको उपत्याका प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए । उनले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन पनि आग्रह गरे ।
काठमाडौं उपत्यकास्थित वागमती, विष्णुमती र मनोहरा नदी सहतका खोलामा गएरातिदेखि प्रहरीले नियमित गस्ती तथा पट्रोलिङ गरिरहेका र उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उनले बताए ।
वर्षा र बाढीले काठमाडौंमा डुबान भएर धेरै धनमालको क्षति समेत भएको छ । भक्तपुरमा मनोहरा खोला किनारमा डेढ दर्जन भन्दा बढी टहरा डुबानमा परेर मानिसहरु विस्थापित भए । ललितपुरको च्यालसमा नेकपा एमालेको पार्टी कार्यालय र च्यासल रंगशालाभित्र बाढी पस्यो ।
काठमाडौंको बल्खुमा तरकारी बजार नै डुबानमा पर्यो भने युएन पार्क वरपर बागमती किनारका सडक नै डुबायो । काठमाडौंको नागार्जुन नगरपालिका-३ मा घरमा पहिरो जाँदा एक जनाको मृत्यु नै भयो ।