काठमाडौं खबर असार २२, २०८१
काठमाडौं । बुढानीलकण्ठ युथ सर्कलले समसामयिक राजनीतिक परिघटनाबारे छलफल गर्न चिया संवाद कार्यक्रमको आयोजना गरेको छ । असार २१ गते शुक्रबार बुढानीलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेलले समसामयिक राजनीतिक घटनाक्रममाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए ।
युथ सर्कलले हरेक महिना समसामयिक विषयमा छलफल गर्न सम्बन्धित विषयका दिग्गज व्यक्तित्वहरूलाई बोलाएर गर्ने कार्यक्रम २०८० चैत्रदेखि निरन्तर चलिरहेको छ । यसपटक अतिथिको रूपमा राजनीतिक सल्लाहकार पौडेललाई बोलाइएको सर्कलका सदस्य ज्योति केसीले बताए । कार्यक्रममा स्थानीय बुद्धिजीवी राजनीतिक दलका नेता तथा समाजसेवीसमेत गरी करिब ५० जना उपस्थित भएका थिए ।
चिया संवादको पहिलो कार्यक्रम गत चैतमा राजनीतिक विश्लेषक शंकर तिवारीको साथमा सम्पन्न भएको थियो । त्यसपछि वैशाखमा प्रदेश सभा सांसद कुन्दनराज काफ्ले. जेठमा महासमिति सदस्य राजु थापा र नेपाली काँग्रेस काठमाडौं जिल्ला सदस्य ईन्द्र बहादुर थापाको साथमा कार्यक्रम सम्पन्न भएको थियो ।