

पाटन (ललितपुर) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै आयुक्तले गुठीको जग्गा अतिक्रमण गरेको भेटिएको छ । आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खालले गुठीको जग्गा अतिक्रमण गरेको भेटिएपछि भत्काइएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ललितपुर महानगरपालिकाको १० नं वडामा पर्ने उनको घरले गुठीको जग्गा अतिक्रमण गरेको भेटिएपछि ललितपुर महानगरपालिकाले डोजर चलाएको हो ।
उनको घरले चाकुपाट सरस्वती खेल गुठीको जग्गा अतिक्रमण गरेको महानगरपालिकाको भनाइ छ । सो बारेमा गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले पटकपटक चेतावनी दिएको थियो । महानगरपालिकाको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए ।
गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न गुठियारको चाहानाबमोजिम मात्र काम हुने उनले जानकारी गराए । त्यो सार्वजनिक जग्गा भए पनि गुठीका नाममा लालपुर्जा बनिसकेको छ । कित्ता नं ३१६ मा देवाली गुठीका नाममा चार रोपनी जग्गा छ ।