काठमाडौं । ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । यही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधयेक सोमबारको नगरसभा बैठकले सर्वसम्मतिले पारित भएको हो । महानगरले रु सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको थियो ।
यसरी ललितपुरले बजेट पारित गरिसक्दा काठमाडौं महानगरपालिकाको भने बजेट पारित हुने सुरसारै रहेको छैन । सँगै सीमा जोडिएका दुई महानगरपालिकामध्ये काठमाडौंमा भने मेयर बालेन्द्र साहले समन्वय गर्नुको साँटो दलीय प्रतिनिधिसँग दूरी बढाउने काम गर्दा समस्या भएको महानगरपालिकाका एक अधिकारीले जानकारी दिए ।
गत शुक्रबार काठमाडौं महानगरको नगरसभा बस्दै नबसी स्थगित भएको थियो । बिहान आठ बजे बोलाइएको बैठकमा महानगरका मेयर बालेन्द्र शाह आफैं उपस्थित नभएपछि नगर कार्यपालिकाका सदस्यहरू नै चकित भए । जसले करिब तीन घण्टासम्म कुरेका जनप्रतिनिधिहरु अन्ततः सभा स्थगित भएको सूचना पाएपछि बाहिरिए । शुक्रबारको सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल थियो। तर यस्ता महत्त्वपूर्ण एजेन्डासहित आफैंले बोलाएको सभामा मेयर शाह किन गएनन् ? भन्नेमा अनेक छलफल र कुराकानी भए ।
मेयर शाहले प्रजातन्त्रका सेनानीहरूको नाममा खुलेका प्रतिष्ठानलाई बजेट छुट्याउन नसक्ने कुरामा अडान राखेपछि वडाध्यक्षहरूले संशोधन प्रस्ताव राखेका थिए । तर दलीय व्यक्तिको नाममा खुलेका प्रतिष्ठानमा लगानी गर्ने कुरामा बालेन सकारात्मक छैनन् । उनले सामाजिक सञ्जालमा लेख्दै नेताको नाममा करोडौंको कार्यक्रम गर्न नमान्दा नगर सभा रोकेको बताएका छन्। यही विवादका कारण काठमाडौंमा बजेटमाथि छलफल समेत हुन सकेन ।