काठमाडौं । काठमाडौँ महानगरपालिकाले ऐला लगायत स्थानीय पेय पदार्थको अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सम्भाव्यता अध्ययन गर्न लागेको छ । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
यसमा समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुको मात्र अध्ययन हुने बताइएको छ । पहिलो चरणको अध्ययन सुरु भइसकेको भन्दै यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन-कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ गर्न सकिन्छ भन्ने थाहा हुनेछ । त्यसपछि आवश्यक कानुनी व्यवस्था गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने बताइएको छ ।
नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेयपदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेका छन् । जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेयपदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेयपदार्थको गुणस्तरियतालाई ब्राण्डिङ गरेर विश्व समक्ष पुर्याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको कामपाले जनाएको छ ।