

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षाको मिति तय गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट सुरु भई साउन ३१ गतेसम्म पूरक परीक्षा सञ्चालन हुने र नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ ।
यसअघि साउन १८ र १९ गते परीक्षा गर्ने बताइए पनि यसको मिति परिवर्तन गर्न लागिएको हो । यद्यपि शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बार्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको हो ।
पूरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ ।