

काठमाडौं । त्रिशुल जात्रा(मचाती जात्रा ): नेपाल संबत तछलागा,भलाष्टमीको दिन पशुपतिनाथ को देवपतन(ग्वोल)/पशुपतिको जय बागेश्वोरीमा नेवार समुदायले धुमधाम मनाउने गर्छन् । यस जात्रा राजा यक्ष मल्लले नेपाल संवत् ६३४ देखि चलाएका हुन् । यस जात्रा सर्वप्रथम श्री बत्सलेश्वरीका पुजारी मुनिबन्धु जो साधक र तन्त्रिकाचार्य पनि हुन्, उनले नै यो जात्राको सुरुवात गरेका हुन् भन्ने मान्यता रहेको छ ।
पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउने उद्देश्यले मनाउन थालिएको विश्वास गरिने त्रिशूल जात्रा पशुपति क्षेत्रमा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष आषाढकृष्ण अष्टमीका दिन मनाइने त्रिशूल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको भनाइ छ । स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी आतङ्कित बनेका थिए । राक्षसले पशुपतिबाट बालक लैजाने नियमित नै भएपछि भुवनेश्वरीका पुजारी भूमि आचार्जुका छोरा नै लगेको थियो । आचार्जुले छोरा राक्षसले लगेको थाहा पाएपछि पाटन शङ्खमूल क्षेत्रमा गई तान्त्रिक साधना गरेर अमृत लिएर नयाँबानेश्वरमा आउँदा छोरालाई मारेको केही महिलाले सुनाए ।
नयाँबानेश्वरको हाल छक्कुबक्कु मन्दिर रहेको क्षेत्रमा अमृत बिसाएर महिलालाई गाली गरेकाले त्रिशूल जात्राका क्रममा अश्लील शब्दले गाली समेत गर्ने गरेको मान्यता रहिआएको छ । आचार्जुले ल्याएको अमृतले बालकलाई बचाएर त्यसै वर्षदेखि पशुपति क्षेत्रमा त्रिशूल जात्रा गरी राक्षस बालबालिका लिन आएमा त्रिशूलले खोपेर आन्द्राभुँडी निकाल्ने सन्देश दिएको भनाइ पशुपति क्षेत्रका संस्कृतिविद् मुकुन्दराज वैद्य बताउनुहुन्छ ।
सिफलचौरबाट राक्षसलाई बालबालिकामाथि आक्रमण नगर्न खबरदारी गर्न यो जात्रा सुरु गरिएको किंवदन्ती यस क्षेत्रमा चलेको छ । कसैले भने यो जात्रा मल्लकालदेखि चलेको बताउने गरेका छन् । यो जात्रा गरेपछि वर्षभर पशुपति क्षेत्रका बालबालिका राक्षसबाट सुृरक्षित हुने विश्वास गरिन्छ ।
तान्त्रिक विधिविधानद्वारा नौ प्रकारको रथ बनाउने चलन रहेको छ । मुसल, शंख , त्रिशुल, खड्का पशु, कुन्त, बलिछरी आदि आयुधले युक्त गरी कुमार र कुमारी नौ जनालाई रथमा राखी आषाढ कृष्ण अष्टमीका दिन श्री इशानेश्वोर महादेवको प्रदक्षिणा गरी जात्रा गर्ने रीत चलाए । तर आर्थिक अभावका कारण हाल तीन वटा खटमा मात्रै यो जात्रा सीमित भएको छ ।