काठमाडौं । सार्वजनिक जग्गाको दुरूपयोग गर्न बुढानीलकण्ठ नगरपालिकाले देशभरका निकायलाई पछाडि पार्दै छ । खोल्सा, राजकुला मिचेर प्लटिङका लागि बाटो बनाउनदेखि नेता वा प्रतिष्ठित व्यक्तिलाई सार्वजनिक जग्गा उपयोग गर्न दिनेसम्मका विषयमा बुढानीलकण्ठले आफूलाई अब्बल सावित गरिरहेको छ ।
नगरप्रमुख मिठाराम अधिकारीको निवासनै खोलाको जग्गा मिचेर बनाइएको आरोपकाबीच बुढानीलकण्ठ वडा नं २ मा नेताको घर जान सार्वजनिक जग्गाको बीचबाट बाटो निकालिएको भनेर आरोप लागिरहेको बेला राष्ट्रिय नेताको जग्गासम्म जानका लागि प्रदेशको बजेटमा सार्वजनिक जग्गाबाट बाटो निकालिएको नयाँ विषय सार्वजनिक भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ को धोविखोला करिडोरसँगैको यो घटनामा स्थानिय सरकारको संलग्नता रहेको स्थानीयवासीको भनाई रहेको छ । ६ महिनाजति अघि बुढानीलकण्ठ २ का जनप्रतिनिधिले सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणस्थल भनेर बोर्ड टाङेकै २५ रोपनी सार्वजनिक जग्गाबाट बाटो निकालेर नेता पौडेलको जग्गासम्म जाने कच्चि मोटरबाटो खन्न थालेपछि स्थानीयवासी तरङ्गित भएका हुन् ।
सार्वजनिक जग्गामा बाटो खोल्न प्रदेश सरकारको बजेट दुरूपयोगसमेत गरिएको स्थानीयवासीले बताएका छन् । नेताको जग्गामा जानका लागि सरकारी जग्गाबाट सडक निकालेको विषयमा स्थानीय तहका जनप्रतिनिधि मौन बस्नुले उनीहरूको साथ सहयोगसमेत रहेको स्थानीवासीको आरोप रहेको छ ।
पूर्व उपराष्ट्रपति नन्दकिशो पुनः ले कुनै ताका माछा पाल्ने कामसमेत गरेको यो सार्वजनिक जग्गामा धेरैले आँखा लगाएको अबस्थामा गत असोजमा वडाका जनप्रतिनिधिले पार्क बनाउने भनेर यो जमिनमा बोर्ड टाँगेरै प्रचारबाजी गरेका थिए । सोही सार्वजनिक जग्गाबाट पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता देबेन्द्र पौडेलको जग्गामा जान सडक नै निकालिएको हो ।