काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठले पार्टीका महामन्त्री विक्रम पाण्डेविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा परेका पूर्वएआईजी समेत रहेका श्रेष्ठले पार्टी महामन्त्री पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको भन्दै पाँच जनाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनाबारे अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिएको बताए ।
आइतबार कार्यसम्पादन समितिको बैठकमा पाण्डे र श्रेष्ठबीच व्यक्तिगत स्तरमै झरेर चर्काचर्की भएको थियो । त्यसपछि बिहान बैठकपछि खाना खान निस्कने क्रममा ठाकुरमोहनमाथि आक्रमण भएको थियो । आक्रमणको पछिल्लो दृष्य सञ्चारमाध्यम लाइभमा समेत कैद भएको थियो । उक्त लाइभमा विक्रम पाण्डेका स्वकीय सचिव प्रेम बलायरसहित उनी निकटका युवाहरु आक्रमणमा संलग्न देखिएका छन् ।
राप्रपाको काठमाडौं क्षेत्र नम्बर ४ को अध्यक्ष रिद्दि राणा, पाण्डे मन्त्री बन्दा सरकारी नियुक्ति पाएका हिम्मतजंग कार्की र विद्यार्थी नेता निराजन बम भिडिओमा देखिन्छन् । उनीहरुविरुद्ध नै श्रेष्ठले जाहेरी दिएका हुन् । अरु अपरिचितहरु १०-१२ जना थिए ।