काठमाडौं । बेइजिङको प्रभावमा नेपामलमा नयाँ गठबन्धन बनेको आरोपका बीच नयाँ गठबन्धन सरकार बनेपछि वेइजिङबाट पहिलो भ्रमण टोली काठमाडौं आइसकेको छ । चिनियाँ जनमुक्ति सेनाको अन्तर्राष्ट्रिय मेलिटरी कोअपरेसन अफिसका उपप्रमुख उपरथी चाङ बाओक्वानको नेतृत्वमा एक टोली शनिबार काठमाडौं आएको हो ।उक्त टोली आइतबार सैनिक मुख्यालय जंगी अड्डा पुगेर भेटवार्ता गरेको छ ।
उपरथी चाङले प्रधानसेनापति प्रभुराम शर्मासँग उनकै कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरे । भेटवार्तामा दुई छिमेकी देशहरुका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बीच रहिआएको सम्बन्धका विविध पक्षहरु एवं आपसी चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।सेनाको अनुसार नेपाल भ्रमणमा आएको उक्त चिनियाँ टोलीले काठमाडौं, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृति र पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । चार दिने भ्रमणमा आएको ६ सदस्यीय चिनियाँ टोली फागुन २९ मा फर्कने छ । उक्त टोली माल्दिभ्स, श्रीलंका हुँदै नेपाल भ्रमणमा आएको हो ।