काठमाडौं खबर फाल्गुन २७, २०८०
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको उमेदवार चयन गरेको छ । बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रियसभा सदस्य नारायण दाहाललाई उमेदवार बनाउने निणर्य गरेको महासचिव देव गुरुङले जानकारी दिए । दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् ।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने व्यक्ति हुन् । दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ । सत्ता गठबन्धनको सहमति अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने उल्लेख छ । सोही अनुसार माओवादीले अध्यक्ष उमेदवार टुंग्याएको हो । राष्ट्रियसभा अध्यक्षको मनोनय सोमबार दर्ता हुँदै छ । मंगलबार निर्वाचन हुँदै छ ।