काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवार चयन गरेको छ।आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बाँकेका युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निणर्य गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
शर्मा २०७८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। शर्मालाई त्यसबेला कांग्रेसले लामो समयपछि न्याय दिएको थियो। शर्मा यसअघि २०४५ देखि २०४९ सम्म बाँके कांग्रेस सभापति भएका थिए। पञ्चायतविरोधी आन्दोलनमा होमिएका उनी २०२४ सालमा पहिलोपटक जेल गएका थिए। उनी त्यसपछि पटक पटक जेल परे। कांग्रेसले यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कुरा आएको थियो। तर नेकपा माओवादी केन्द्रले गठबन्धन बदलेसँगै शर्मा अध्यक्षका उम्मेदवार भएका हुन्।