![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मेगा सभा हल निर्माणका लागि काठमाडौँ महानगरपालिका जग्गाको खोजीमा छ । जग्गा प्राप्त नहुँदै नीति कार्यक्रममा राखेको सभा हल निर्माणको कार्यले गति लिन सकेको छैन ।काठमाडौँ महानगरले समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गामा सभा हल बनाउने प्रयास गरेको हो तर त्यसबारे परिषद्सँग कुरा मिल्न सकेको छैन । परिषद्ले जग्गा दिने विषयमा तत्काल निणर्य नहुने पनि जनाएको छ । त्यसैकारण महानगरको प्रयास चार वर्षदेखि सफल हुन सकेको छैन । समाज कल्याण परिषद्को स्वामित्वमा भृकुटीमण्डपको २१४ रोपनी जग्गा रहेको छ ।
सभा हल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न समाज कल्याण परिषद्सँग छलफल गरी प्रक्रिया अगाडि बढाउन महानगरको कार्यपालिकाले निणर्यसमेत गरिसकेको छ । काठमाडौँ महानगरपालिका, भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भृकुटीमण्डप क्षेत्रमा मेगा सभा हल निर्माण गर्न सम्पूणर् तयारी भए पनि जग्गा अधिग्रहणमा देखिएको विवादका कारण अहिलेसम्म काम अगाडि बढ्न नसकेको बताए ।
उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका र समाज कल्याण परिषद्बिच पटक पटक छलफल भए पनि सभा हल निर्माणका लागि जग्गाको समस्या टुङ्गो लाग्न सकेको छैन ।” जग्गाको विवाद टुङ्गो नलाग्दा महानगरको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सो आयोजना समावेश गरिएको छैन ।
उहाँले समाज कल्याण परिषद्बाट महानगरमा जग्गाको स्वामित्व हस्तान्तरण हुनेबित्तिकै महानगरपालिकाले निर्माण प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । सभा हल निर्माणका लागि काठमाडौँ महानगरपालिकालाई जग्गा उपलब्ध गराइदिन सरकारमार्फत समाज कल्याण परिषद्लाई अनुरोध गर्ने महानगरको तयारी छ तर समाज कल्याण परिषद्का प्रशासन प्रमुख दुर्गा भट्टराईले भृकुटीमण्डपमा सभा हल निर्माण गर्ने विषय तत्काल परिषद्को नीति तथा कार्यक्रममा नरहेको जानकारी दिए ।
समाज कल्याण परिषद्ले भृकुटीमण्डपको जग्गाबाट वार्षिक रूपमा गर्दै आएको आम्दानीको स्रोत महानगरपालिकाले बेहोर्ने र भृकुटीमण्डपको जग्गा महानगरपालिकाले लिने सम्बन्धमा समेत समाज कल्याण परिषद्सँग छलफल अगाडि बढाइने महानगरको योजना छ तर समाज कल्याण परिषद्ले आफ्नो आयआर्जनको मुख्य स्रोत नै भृकुटीमण्डपको जग्गा भाडाबाट प्राप्त हुने रकम हो भन्दै आम्दानीको स्रोतको सुनिश्चितता भएमा महानगरलाई सो जग्गा उपलब्ध अडान लिँदै आएको छ ।
महानगरपालिकाले भृकुटीमण्डपमा सभा हल निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा गरिसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न बाँकी छ । जग्गा अधिग्रहणबारे समाज कल्याण परिषद्सँग टुङ्गो लागिसकेपछि डिपिआरको काम अगाडि बढाउने पूर्वाधार विकास विभाग प्रमुख थापाले बताए । डिपिआर निर्माणका लागि महानगरपालिकाले गत आर्थिक वर्षमा एक करोड रुपियाँ विनियोजन गरेको थियो ।
भौतिक पूर्वाधार विकास विभागका प्रमुख थापाका अनुसार तीन हजार जना क्षमताको एउटा मेगा हल हुने छ भने दुई सयदेखि एक हजार जना क्षमताका अन्य पाँच वटा हल निर्माण गरिने छन् । त्यसै गरी २०/२५ जना बसेर गोष्ठी छलफल गर्न मिल्ने साना साना हलसमेत निर्माण गरिने छ । त्यसै गरी दुई हजार चारपाङ्ग्रे सवारीसाधन अट्न सक्ने पार्किङसमेत निर्माण गरिने छ । उपत्यकाको मौलिक वास्तुकलाका आधारमा सभा हलको प्रारम्भिक डिजाइन गरिएको महानगरले जनाएको छ । भवनको कुल ‘बिल्टअप’ क्षेत्रफल करिब एक लाख १४ हजार वर्गमिटरभन्दा पनि केही बढी हुने छ । कुल १२ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो भवन पाँच तलाको हुने गरी डिजाइन गरिएको छ । गोरखापत्र