काठमाडौं । नेकपा माअोवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छिन् । शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भुसालले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउन विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् । उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन् ।
उपाध्यक्ष भुसालले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा तरंगित गरिएको भन्दै गठबन्धन यहीका दल र नेताहरूले बनाएको बताइन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् ।
उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातीय भएको पनि बताइन् । गठबन्धनमा वामपन्थीहरूको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने उनको भनाइ छ । उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टी समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्याउनुपर्ने बताइन् । उनले देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने बताइन् ।