काठमाडौं । नेपालमा कारागारको इतिहास १०० वर्षभन्दा पुरानो छ । विसं १९७१ सालमा पहिलो कारागारको रुपमा जैसी देवलको ‘सदरजेल’ स्थापना भएको हो । कारागरको व्यवस्था भए पनि २०१९ सालमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन, २०१९ निर्माण गरिएको थियो । हाल नेपालमा कारागार ऐन, २०७९ लागु छ । हाल नेपालमा ५ जिल्लाबाहेक सबै जिल्लामा कारागार रहेका छन् । नेपालमा ७२ जिल्लामा ७४ वटा कारागारहरू रहेका छन् ।
साना क्षमताका नेपाली कारागारमा क्षमताभन्दा धेरै कैदीहरू रहेका छन् । दुर्गमका कतिपय कारागारमा त क्षमताभन्दा तीनगुना धेरै कैदीहरूको भनेर समाचारहरू प्रकाशित भैरहेका छन् । नेपालका कारागारहरूमध्ये काठमाडौँको सदर खोर जैसीदेवलमा तीन हजार ४७४ कैदीबन्दी रहेका छन् ।
नेपाली कारागारमा विदेशी कैदीबन्दी धेरै नै छन् । कारागार व्यवस्थापन विभागका अनुसार नेपालका विभिन्न कारागारमा २०८० माघ मसान्तसम्म एक हजार ४०५ जना विदेशी कैदीबन्दी छन् । नेपालका कारगारमा रहेका कुल कैदीबन्दीमध्ये ४.९७ प्रतिशत विदेशी नागरिक रहेको विभागको तथ्यांकले देखाउँछ ।
नेपालका कारागारमा भारत, भुटान, बोलिभिया, बर्मा, चीन, जाम्बिया, पाकिस्तान, क्यानडा, सर्विया, अमेरिका, जर्मनी र चेक रिपब्लिक गरी १२ देशका कैदीबन्दी छन् । विभागका तथ्यांकले नेपालका कारागारमा रहेको विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । नेपालका विभिन्न कारागारमा एक हजार ३३३ जना भारतीय नागरिक कैदीबन्दी छन् । अर्थात् नेपालका कारागारमा रहेका कुल विदेशी कैन्दीबन्दीमा ९४.८७ प्रतिशत भारतीय छन् ।
“कर्तव्य ज्यान मुद्दा, लुटपाट, ठगी, लागुऔषध कारोबार लगायतका मुद्दामा आरोपित र ठोषी ठहर भएका ठूलो संख्यामा भारतीय नेपालका कारागारमा छन्,” विभागका प्रवक्ता पाण्डेले भने । भारतीयपछि नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीमा ठूलो संख्या भुटानीको छ । ४९ जना भुटानी नागरिक कैदीबन्दीको रूपमा नेपालका कारागारमा छन् । नेपालमा रहेका अन्य विदेशी कैदीबन्दीमा १२ जना चिनियाँ, एक जना बोलिभियन, एक जन म्यानमारी, एक जना जाम्बियन, दुई जना पाकिस्तानी, दुई जना क्यानेडेली, एक जना सर्वियन, एक जना अमेरिकी, एक जना जर्मन र एक जना चेक रिपब्लिकन छन् ।