काठमाडौं । बुढानीलकण्ठमा पाँचवटा राम्रा पार्क बनेका छन् । बुढानीलकण्ठजस्तो कंक्रिटको जंगलमा बनेका यी पार्कले सडकबाट हिँड्दा होस् वा आकाशबाट हेर्दा होस् एकखाले सुन्दरता बाँडिरहेको छ । औपचारिक उद्घाटनसम्म नभएका यी पार्क बन्नुका पछाडि दुइजना पात्रको विशेष हात छ । स्थानीयस्तरबाट परिकल्पना गर्ने तथा प्रस्तावित गर्ने रविन्द्र थापा(रवि) र बजेटको व्यवस्था गर्ने नेपाल सरकारका तत्कालिन सचिव डा. रमेशप्रसाद सिंह ।
थापा र सिंह छिमेकी हुन् । सहरी विकास विषयमा विद्यावारिधीसमेत गरेर सिंह केही वर्षदेखि बुढानीलकण्ठ ८ मा स्थायी बसोबास गर्छन् । छिमेकमा आइपुगेको सिंहसँग थापाको जान पहिचान हुँदै जाँदा आफू बसेको ठाउँमा केही गर्न थापाले सिंहले आग्रह गर्छन् । नेपाल सरकारका सचिव रहेका सिंहले पनि ‘के गर्न सकिन्छ एउटा सोच बनाउनुस्’ भनेपछि प्रकृति तथा वातावरणप्रेमी थापाले पार्क बनाउने बारे प्रस्ताव गरेका थिए । सिंह र थापाले एउटा हैन बुढानीलकण्ठमै पाँचवटा पार्कका लागि काम गर्ने योजना बनाउँछन् । थापाले बुढानीलकण्ठ नगरपालिका तथा तत्कालिन मेयर उद्धव खरेलसहित सबै पक्षसँग काम गर्ने वातावरण बनाउँछन् । डिपिआर बन्छ अनि बुढानीलकण्ठमा पाँचवटा पार्क बन्छ ।
पार्क बनिसकेपछि ‘पार्क बनाउनु पर्छ’ भनेर परिकल्पना र दौडधुप गर्ने रवि थापा तथा संघीय बजेट पारिदिने डा. सिंहलाई पार्क बनेकोमा जस दिने भने कोहि भेटिदैन । यो पार्क आफूले बनाएको भनेर जस लिन तत्कालिन मेयर उद्धव खरेलदेखि एमाले नेता डा, राजन भट्टराइसम्मले प्रयास गरेको देखिन्छ । तर यी पार्कहरू बनेको जस थापा र सिंहलाइ जानु हुँदैन भनेर आजका मितिसम्म यी पार्क प्रचारप्रसारमासमेत परेको देखिदैन ।
पार्क बनिसकेपछि पछिल्ला समय पार्कमा बिबिध कृयाकलाप हुने गरेको छ । फागुन २५ गते शिवरात्रीको दिन पारेर बुढानीलकण्ठ ८ स्थित कालिका पार्कमा २३ फुट अग्लो शिवको मुर्तिको प्राणप्रतिष्ठा गर्ने कार्यक्रम राखिएको छ । तर जसले यो पार्क बनाउने परिकल्पना एवम् दौडधुप गर्यो ती रवि थापालाई बोलाउने वा सम्झने आजका दिनमा कोहि छैन । जसले यत्रो बजेट पारेर पार्क बनाइदियाे पूर्व सचिव सिंहलाई सम्झिने बोलाउने यतिखेर कोही छैन । जनप्रतिनिधिदेखि नेताहरू सकभर यो पार्क थापा र सिंहका कारणले बनेको भन्ने म्यासेज पब्लिकमा नजाओस् भनेर चुपचाप बस्ने गरेको देखिन्छ ।