काठमाडौं । दीपक निरौला चतुर छन् भन्ने कुरा भनिरहनु पर्दैन । कहिलेकाँहि उनी चाहिनेभन्दा धेरै चतुर पनि बन्छन् । राष्ट्रिय राजनीतिमा पार्टी अध्यक्ष केपि ओलीको निवाससम्मै पुग्ने हैसियत राख्ने उनी नेतृत्व गर्न सक्ने गुणका धनी मानिन्छन् । गत निर्वाचनमा पैसा बाँडेको आरोप लागेपछि जित्ने चुनाव हारेको भनिएका निरौला यतिखेर बुढानीलकण्ठ केन्द्रित राजनीतिमा घनिभूतरूपमा रमाइरहेका छन् ।
नेकपा एमालेले बुढानीलकण्ठ नगरपालिकाको १३ वटै वडा अधिवेशन सकेको छ । सर्वविदितै छ, सबै वडामा नेता निरौलाले नै चाहेको नेतृत्व स्थापित भएको छ । आगामी चैत्र १६ र १७ गते नगर अधिवेशन गर्ने तयारी भैरहेको अबस्थामा निरौलाको सक्रियता झनै बढेको छ । यो अधिवेशन कपन हुँदैछ । स्थानीय तहको निर्वाचनमा आजसम्म एमालेको लागि उर्बरभूमि बनिरहेको कपनमा हुने नगर अधिवेशनले कस्लाई नेतृत्वमा ल्याउला भन्ने विषय सबैलाई चासो बनिरहेको छ । वर्तमान मेयर मिठाराम अधिकारीदेखि भविष्यको संभावित मेयर उम्मेदवार भनिएका नवराज भट्टराइको निवास तथा राजनीतिक आधारभूमि रहेको कपनमा हुने नगर अधिवेशनबाट निरौला आफ्नो अनुकुलको व्यक्ति नगर अध्यक्ष बनाउन चाहन्छन् ।
त्यसो त हाल पनि निरौलाकै ‘रबर स्ट्याम्प’ मानिने प्रदीप डङ्गोल नगर अध्यक्ष छन् । प्रदीपलाई स्थापित गर्न निरौलाले ठूलो भूमिका खेलेका छन् । सडकमै यातायत मजदुर कुटेको भिडियोदेखि बिभिन्न विषयमा स्क्यान्डल भएका डंगोल नेतृत्व् क्षमताका नभएता पनि निरौलाले आफू अनुकुल व्यक्ति भएकाले सँधै च्याप्ने गरेका छन् ।
यसपाला नगर अधिवेशनमा पनि निरौला उनै प्रदीपलाई फेरि एकपटक नगर अध्यक्ष बनाउन चाहन्छन् । नगर अधिवेशन आउन अझै १५ दिन बाँकीछँदै निरौलाले प्रदीपको विकल्प नभएको भन्ने भाष्य सृजना गरिसकेका छन् । वर्तमान मेयर(मिठराम अधिकारी) तथा पछि मेयरका संभावित उम्मेदवार(नवराज भट्टराइ) कै क्षेत्र कपनबाट उनी आफ्ना मानिसलाइ नगर कमिटिमा फुलमाला लगाएर अनुमोदन गर्न चाहन्छन् ।
के छ निरौलाको प्लान ?
दीपक निरौला राजनीतिमा चतुर छन् । उनी एक तीरबाट दुईतीन शिकार मार्न प्रयास गर्छन् । आसन्न काठमाडौँ जिल्ला समितिको अधिवेशनमा उनी जिल्ला अध्यक्ष दोहोरिने प्रयासमा छन् । दोहोरि भने संघीय सांसदको उम्मेदवार बन्ने ताकमा छन् उनी । तर बिभिन्न कारणले उनी जिल्ला अध्यक्ष बन्न सकेनन् भने बुढानीलकण्ठ नगरपालिकामा मेयर बन्न चाहन्छन् । बुढानीलकण्ठको मेयर बन्न सजिलो बनाउनकै लागि उनले नगरका १३ वटै कमिटिको नेतृत्व आफू अनुकुल बनाएका छन् भने नगर कमिटी पनि आफू अनुकुल बनाउँदैछन् । यसो गर्दा मेयरको उम्मेदवार बन्नदेखि जित्ने वातावरण बनाउनसम्म सजिलो हुने आधारमा गणितीय काम गर्दैछन् निरौला ।
०८४ मा मेयर बन्न क-कसले दावी गर्लान् ?
आगामी स्थानीय चुनावमा बुढानीलकण्ठ नगरपालिकाबाट एमालेको उम्मेदवार बन्नका लागि ककसले दावी गर्लान् भन्ने विषय सबैको चासोको विषय हो । यो चासोको विषयमा दीपक निरौलाले सबै कमिटि आफू अनुकुल बनाएर आफू एक नम्बरमा सिफारिस हुन सक्ने वातावरण बनाएकाले उनले चाहेसम्म पहिलो सम्भावना दीपक निरौलाको नै रहन्छ । मेयर मिठाराम अधिकारीको यो अन्तिम कार्यकाल हुने कुरामा दुईमत छैन ।
त्यसैगरी हाल उपमेयर रहेकी अनिता लामाले आफू जबर्जस्त दावेदार भएको प्रमाणित गर्दैछिन् । यद्यपि उनका चालहरू सस्ता र आफ्नालाइ पनि रूचिकर नलाग्ने खालको भनेर आलोचना हुने गरेको छ । उनीभित्र रहेको जातीय संकुचनले पनि पछाडि पार्ने आंकलन गरिन्छ । उपमेयर लामाको दावी एमाले नेतृत्वमा इश्वर पोखरेलको उचाइ तथा हैसियतले निर्धारण गर्नेछ ।
अर्का दावेदार हुनेछन् हाल नगर प्रवक्ता रहेका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई । नेतृत्वमा निराैला र लामाजति पहुँच नभए पनि जनमानसमा भट्टराइको दमदार नै क्रेज देखिन्छ । बालेनले कपनका खोलामा डोजरमा लगाउँदा मेयर उपमेयरलगायत नेताहरू कुनामा ‘दुम्केर’ बसिरहँदा भट्टराई डोजरमाथि चढेर बालेनबिरूद्ध आगो ओकलेको कारण पनि कपन एमालेमा उनको राम्रो क्रेज गजबको छ । तर उनको समाउने हाँगो भने देखिन्न । आफै ‘पुङ्माने’ भैसकेका डा. राजन भट्टराइ कै आधारमा भने उनले टिकट पाउन गारो नै देखिन्छ ।