काठमाडौं । अर्थमन्त्री नपाउने भएपछि एमाले उपाध्यक्ष विष्णु पौडेल सरकारमा नजाने भएका छन्। एमाले माओवादीसहितको नयाँ गठबन्धन निर्माणमा भूमिका खेल्दै आएका भए पनि पौडेलले अर्थमन्त्री पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ। अर्थमन्त्री एमालेले नपाउने भएपछि पौडेलले अरु मन्त्रालय लिएर सरकारमा जान चाहेका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि विष्णु पौडेल सरकारमा नजाने भएका हुन्।
प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री आफ्नै पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई बनाउन खोजेका छन्। अर्थमन्त्री पुन नै बन्ने सम्भावना बलियो छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन्। शीर्ष नेतासँगको छलफलमा उनले गृह आफ्नो ‘बटमलाइन’ भएको बताउँदै आएका छन्।
‘गृह रविले नै पाउने सम्भावना छ,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्रीलाई अनुकूल हुनेगरी मन्त्रालय टुंगो लगाउन दिने पक्षमा छन्। गृह हामीले पाउनु पर्छ भनेर रस्साकस्सी गर्ने पक्षमा ओली छैनन्।’ यसले अर्थ र गृह दुबै मन्त्रालय एमालेको भागमा नपर्ने सम्भावना छ।
‘अर्थबाहेक यसअघि कांग्रेसले लिएका मन्त्रालय एमालेले लिनेछ। यसअघि माओवादीले लिएका मन्त्रालय माओवादीले नै लिने गरी नेताहरुबीच सहमति भएको छ। भोलिसम्म यसको फाइनल होला,’ स्रोतले भन्यो। नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि ल्याउन नेताहरुले गृहकार्य गरिरहेका छन्।