काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्। सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्।
आज एमालेबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने टुंगो लागिसकेको छ। माओवादी केन्द्र, रास्वपा र जसपाबाट एक/एक जना मन्त्री जाने तय भएपनि को जाने भन्ने बारेमा टुंगो लागिसकेको छैन। यद्यपि बालुवाटार स्रोतले दिएको जानकारी अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन्।
माओवादी केन्द्रबाट भने उपमहासचिव वर्षमान पुन सरकारमा सहभागी हुने संभावना उच्च रहेको स्रोतको दाबी छ। गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।