काठमाडौं । सांसद गगन थापाको कार्यालयले आगामी आर्थिक वर्षका लागि केन्द्र, प्रदेश, नगर र वडामा पठाउने विकास निर्माणका योजना तहगत संकलन गर्न कांग्रेस इकाई समितिलाई पत्र काटेको छ । फागुन १८ गते काटिएको पत्रका अनुसार क्षेत्र नं ४ अन्तर्गत बुढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामा फागुन २० देखि २२ सम्म योजना संकलन गरिने छ ।
सांसद कार्यालयले इकाई सभापति र वडा कार्य समितिलाई सम्बोधन गरेर लेखेको पत्रमा सांसद कार्यालयबाट खटिई आउने प्रतिनिधि र प्रदेश माननीयको उपस्थितिमा योजना संकलन गरेर वडाको आधिकारिक लेटर हेडमा चैत्र ५ सम्ममा सांसद कार्यालयमा आइपुग्ने गरी पठाउन भनिएको छ ।
योजना संकलन कार्यतालिका अनुसार फागुन २० गते वडा नं १३ र वडा नं १ को योजना संकलन गरिनेछ । त्यसैगरी फागुन २१ गते वडा नं ११ र वडा नं ८ को संकलन गरिनेछ । त्यसैगरी फागुन २२ गते वडा नं ३, १०, १२, ९ संकलन गरिनेछ ।
संसाद गगन थापाद्वारा हस्ताक्षरित पत्रमा योजना संकलन गरिने कार्यक्रममा अनिवार्यरूपमा अग्रज समाजसेवी, बुद्धिजिवी, पेशाकर्मी, वडा समितिका पदाधिकारी तथा टोल समितिका सभापति उपस्थिति रहनु पर्ने पनि सांसद कार्यालयको पत्रमा उल्लेख गरिएको छ ।