काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले कस्ता प्रोजेक्टलाई नगर गौरव आयोजना भन्छ ? भनेर सोधखोज गर्यो भने आश्चर्यचकित कुरा हात पर्छ । त्यसैगरी यस नगरपालिकाले कस्ता कस्ता विषयलाई नगर गौरव बनाउन चाहदैन ? भन्ने विषय सोधखोज गर्यो भने पनि सबैलाई ताज्जुब लाग्न सक्छ ।
पहिले नगरपालिकाले ‘नगर गौरव योजना’ भनेका विषयतिर जाऔँ । बुढानीलकण्ठ नगरपालिकाले यस आर्थिक वर्षमा नगर गौरव आयोजना भनेर नगरपालिकाकै वार्षिक नगर विकास योजना २०८०/०८१ पुस्तका लेखेको ११ विषयमा एउटा विषय हो, ‘जिप फ्लायर’ राख्ने । देशैभर निजी क्षेत्रले बिजनेस गरिरहेको मध्यम लगानीको जीप फ्लाएर बनाउने भनेर बुढानिलकण्ठ नगरपालिकाले जगहसाइँ नै गरेको छ । देशैभर दर्जनौँ जिप फ्लायर बनेका र त्यो कुनै गौरवको विषय हुनुपर्ने कारण नै नभएको अबस्थामा यस नगरपालिकाले कहाँ ? कसरी ? किन ? बनाउने बारे गहिरो अध्ययनसमेत नगरी ‘अनानफनान’मा नगर गौरव योजना भनेर पुस्तकमा प्रकाशित गरेको छ ।
त्यसैगरी नगरपालिकाको वडा नं १२ जहाँ सास फेर्न एक टु्क्रा पनि सरकारी वा सार्वजनिक जमिनमा रूख छैन । ‘ओपन प्लेस’ नभएको यस वडाको लाखे पोखरीमा रहेको सानो टुक्रा सार्वजनिक जमिनमा ‘मल्टिप्रपोज’ भवन बनाउने निणर्य गरेर यस नगरपालिकाले नगर गौरव आयोजना भनेको छ । सार्वजनिक जमिन खोजबिन गरेर संरक्षण गर्ने नीति लिन नसकेको बुढानिलकण्ठ नगरपालिकाले सास फेर्नै गारो हुने गरी बसती विकास भएको वडामा मल्टिप्रपोज भवन बनाउने भनेर नगर गौरव आयोजना भनेको छ ।
यस्ता अन्य दुईवटा भवन बनाउने भन्दै नगरपालिकाले नगरगौरब आयोजना भनेको छ । भवन निर्माणलाई नगरगौरव योजना भनेर जगहसाइँ गरिरहेको बुढानिलकण्ठ नगरपालिकामा देशमै नाम कमाउन सकिने दुई खेल मैदान निर्माणका लागि भनेरचाहिँ केही पनि गरेको छैन । लगभग एक दशकअघि शिलान्यास भएर पनि स्थानीय तहको बक्रदृष्टिले बन्न नसकेको क्रिकेट मैदान हो ‘सुवर्ण शम्शेर क्रिकेट मैदान’। बुढानिलकण्ठ १३ गाम्चामा रहेको यो मैदान कांग्रेसका दिवंगत नेता सुवर्ण शम्सेरको नाममा रहेको छ ।
कांग्रेस नेता सुवर्ण शम्सेरको नाममा रहेकै कारण बुढानीलकण्ठ नगरपालिकाले यस मैदानलाई बनाउन चासो नदिएको हो । पटक पटक गम्भीररूपमा आवाज उठ्दा पनि यो विषय नगपालिकाको नगर गौरवको विषय बन्न सकेन । पूर्व मेयर उद्धव खरेलदेखि हालका मेयर मिठाराम अधिकारीसम्मले यो कांग्रेसको मैदान भएको भन्ने भाष्य सृजना गरेर मैदान बन्न दिएका छैनन् । यद्यपि हालै संघीय सरकारले यो मैदान बनाउन बजेट छुट्याएको समाचार प्राप्त भएको छ ।
बुढानिलकण्ठको शान बन्ने अर्को खेलकुद मैदान हो, ‘धनेश्वर खेल मैदान’ । बुढानीलकण्ठ वडा नं ४ मा रहेको यो मैदानप्रति पनि बुढानीलकण्ठ नगरपालिका कहिल्यै सकारात्मक देखिएको छैन । फुटबल मैदानका रूपमा विकास गर्न लागिएको यो मैदान भएको वडामा कांग्रेसकै जनप्रतिनिधिले चुनाव जितेकै कारण विगत ६ वर्षदेखि सर्वसाधरणलेसमेत दु:ख पाउने काम भैरहेको छ । यस मैदानको जग्गामा केहि व्यक्तिको जग्गा परेको हुँदा ती निजी जग्गालाई सम्बोधन गर्न यस वडाका जनप्रतिनिधिले ६ वर्षदेखि कराउँदा पनि आजसम्म नगरपालिकाले चासोका विषय बनाएको छैन । नगरपालिकाले चाहेको भए धनेश्वर मैदानको समस्या ५ वर्षअघि नै समाधान गरेर काठमाडौँको उत्तरी भेककै चर्चित फुटबल मैदान बनाउन सक्थ्यो । तर मैदान बन्दा कांग्रेसका जनप्रतिनिधि ‘हिरो’ बन्छन् भन्ने सोचग्रस्त नगरपालिकाका मेयरलगायत बहुमत सदस्यका कारण धनेश्वर मैदान बन्ने विषय रोकिएको छ ।
पछिल्ला समय वडा नं १० का वडाध्यक्षसहित वडा नं ६ र ५ का वडाध्यक्षले आफ्ना वडाको बजेट हालेर पनि मैदान बनाउनु पर्छ भन्ने भावना जागृत गरेपछि मैदान बन्छ कि भन्ने आशा भने पलाएको छ । तथापि नगरपालिकाले यो मैदान बनाउनुपर्छ भनेर बजेट तथा नीति कार्यक्रममा उल्लेख नगर्नुसँग मेयर मिठारामअधिकारी तथा उपमेयर अनिता लामाको राजनीतिक बक्रदृष्टि भनेर छर्लङ्ग देखिन्छ ।