काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने मालपोत कार्यालयको प्रक्रियाविरुद्ध व्यवसायी अरुण चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.ले सर्वोच्च अदालतमा निवेदन दिएको हो ।
सरकारले अघि बढाएको प्रक्रिया बदर गर्न माग गर्दै चाँदबाग रेसिडेन्सीको तर्फबाट अदालतमा निवेदन परेको महान्यायाधीवक्ताको कार्यालयले जनाएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारलाई विपक्षी बनाएर दिइएको निवेदनमा माग भएबमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे आज न्यायाधीश आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासमा बहस गर्दैछन् ।
सीआईबीले सरकारी जग्गा हिनामिना प्रकरणमा १८ माघमा अरुण चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।
तर, अदालतले दोस्रोपटक म्याद लिन जाँदा तीन दिनभित्र हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका थिए । त्यसपछि गृह प्रशासनले जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालेको थियो ।