काठमाडौं । काठमाडौँ जिल्लामा निजी विद्यालयहरूको व्यापक बेथेति रहेको नगरपालिकामा बुढानीलकण्ठ सबैभन्दा अगाडि पर्दछ । धेरै निजी विद्यालय रहेको तथा अधिकांश निजी विद्यालयमा नेताहरूको लगानी भएकाले यस्ता विद्यालयको नियमन अनुगमन हुन नसक्दा बेथितिको पराकाष्ठा भएको हो ।
तस्वीरमा रहेको पिकप्वाइन्ट एकेडेमी भन्ने विद्यालय बुढानीलकण्ठ वडा नं १३ मा रहेको छ । यो विद्यालय ११००० भोल्टको बिजुली दौडिरहेको नांगो तारमुनि रहेको छ । कपन-चुनिखेल मार्गमै पर्ने यो विद्यालयको लगानीकर्तामध्ये एक हुन् सोही वडाका वडाध्यक्ष टिकानारायण श्रेष्ठ । बोलिचालीमा टिकेशनारायण भनिने वडाध्यक्षसहितको लगानीमा केही वर्षअघि खोलिएको यो विद्यालय भवन ११ हजार भोल्टको बिजुली नांगो तारमुनि जानीजानी खाेलिएको हो । जानाजान ११ हजार भोल्टको नांगो तारमुनि विद्यालय खाेल्दा पनि स्थानीय सरकारमा लामो समयदेखि टिकानारायणकै पार्टीको हालिमुहाली हुँदा नियमन अनुगमन भएको छैन ।
११ हज़ार भोल्टको बिजुलीको तार मुनी निजी घरसम्म बनाउन नपाउने अबस्थामा यसरी सयौँ विद्यार्थी पढ्ने विद्यालय हुँदा पनि यो बारेमा सम्बन्धित पक्ष कुम्भकर्ण निन्द्रामा छ । ११ हजार भोल्टको बिजुली दौडिरहेको विद्यालय वडाध्यक्षले नै संचालन गरिरहँदा पनि यो विषय न राजनीतिक बन्न सकेको देखिन्छ न सामाजिकरूपमा नै शक्तिशाली ढङ्गले आवाज उठेको छ ।
यति ठुलो भोल्टको करेन्ट दौडिरहेको तारमुनी सो विद्यालयले यतिखेर अर्को भवन थपिरहेको छ । विद्यालय भवन संचालन नियमावलीमा यस्तो ठाउँमा विद्यालय संचालन गर्न नै पाइन्न । टिकानारायण श्रेष्ठलगायतको टिमले पार्टीको आडभरोसमा यति ठूलो भोल्टको तारमुनि विद्यायय संचालन गर्दा पनि बुढानीलकण्ठ नगरपालिकाको शिक्षा शाखा चुपचाप तलब खाएर बसिरहेको छ । नगरपालिकाको शिक्षाको बजेट बिबिध नाममा दुरूपयोग गरेर खर्चका शीर्षक बढाएर बसिरहेको शिक्षा शाखाले नगरका निजी विद्यालयका यस्ताखाले व्यापक अव्यवस्थाप्रति कानमा तेल हालेर बसेको देखिन्छ ।
यसअघि बुढानीलकण्ठ १२ मा रहेको एक प्रशान्ति एकेडेमी नामक विद्यालयको भवन निर्माण एकदमै कमजोर टहरोमा भएको भन्ने बारे उजुरी नै पर्दा पनि शिक्षा शाखा मौन बसेर टारेको थियो । प्रशान्ति एकेडेमी पनि हालसालै माओवादीबाट एमाले भएका एक स्थानीय नेताको विद्यालय हो ।