काठमाडौं । यतिखेरमा पोखरामा साहित्य महोत्सव चलिरहेको छ । ३ दिनपछि पोखरामै अर्को अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुँदैछ । जनकपुरमा यसै साता साहित्य महोत्सव हुँदैछ । यसैको कार्बनकपी गरेर बुढानीलकण्ठमा गर्न लागेको साहित्य महोत्सव विवादमा परेको छ । नगरपालिकाको लगानीमा उपमेयरले आयोजना गर्न लागेको महोत्सवमा स्थानीय सहभागिता १० प्रतिशत पनि नहुनु र स्थानीय सरोकारका विषयबाहिर गएर पोखरा र जनकपुरकै महोत्सवको कार्बनकपी कार्यक्रम गर्न थालेपछि उपमेयर अनिता लामामाथि व्यापक दबाव परेको छ ।
कार्यक्रममा बुढानीलकण्ठमै बस्ने चिरपरिचित राष्ट्रिय बुद्धिजिवी, कवि, साहित्यकारलाइ पुरै ‘बायस’ गरेर कार्यक्रमको ब्यानर उपमेयरले प्रचार गर्न थालेपछि उनको राजनीतिक स्टण्ट नांगिएको हो । उपमेयरले संस्कृति तथा साहित्य महोत्सवको नाममा बिसुद्ध राजनीतिक स्टण्ट गरेको भन्ने सार्वजनिक भएपछि उनीमाथि व्यापक दबाव परेको छ ।
सोमवार उपमेयर लामाले एमाले निकट पत्रकार भेला गरेकी थिइन् भने मंगलबार पनि पत्रकार बोलाएर स्पष्टिकरण दिने कार्यक्रम तयार गरेकी छिन् । उपमेयरले आफ्नो व्यक्तित्व उँचो बनाउनका लागि नगरपालिकाको लाखौँ सम्पत्ति स्वाहा गर्न लागेको भन्ने म्यासेज गएपछि उनी अत्तालिएकी हुन् । उनकै पार्टीको एकतप्का उनको ‘मै मात्र जान्ने हुँ अरू सब अज्ञानी हुन्’ भन्ने भावप्रति असन्तुष्ट देखिएका छन् ।
एमालेभित्र पनि आफु निकट तथा भोलिका दिनमा आफुलाई साथ दिनेहरूलाई मात्र महोत्सवमा सहभागि गराएको भनेर पार्टीमा व्यापक गुनासो बढेको एक क्षेत्रीय नेताले काठमाडौँ खबरलाई बताए ।
उपमेयर लामाभित्र जातीय संकिणर्ता रहेको भनेर बुढानीलकण्ठमा लामो समयदेखि आलोचना भैरहने गरेको छ । यही तथ्यको सत्य साबिती महोत्सव देखिएको भन्दै एमालेको एकतप्का महोत्सवसँग खुशी देखिएको छैन । नजिकका एकसेएक हस्तीहरूलाई बाइपास गरेर देशभर रहेका लामा तामाङ थर भएका हरेक कवि, पत्रकार वा बुद्धिजिवीचाहिँ छानीछानी कार्यक्रममा राखेको भनेर उपमेयर लामा आलोचना भएको छ ।
बुढानीलकण्ठ महोत्सवमा स्थानीय विषय र पात्रहरू नराखीकन पोखरा र जनकपुर महोत्सवको कार्वनकपिमात्र गरिको भन्दै बुढानीलकण्ठवासी लेखक बुद्धिजिवीले बेखुशी देखिएका हुन् । बुढानीलकण्ठमै बस्ने ३ दर्जनभन्दा धेरै विख्यात कवि साहित्यकारलाइ पन्छ्याएर ९० प्रतिशत बाहिरका कवि साहित्यकार तथा अन्य व्यक्तिलाइ ल्याउनुले महोत्सव उपमेयरको निजी कार्यक्रमजस्तो भएको भनेर आलोचना भएको हो ।
नगरपालिकाको शिक्षा क्षेत्रको १० करोड रकम उपमेयरको तजबिजमा खर्च गर्न पाउने निणर्य गरिएको छ । यस सांस्कृतिक तथा साहित्य महोत्सवमा बुढानीलकण्ठको शिक्षा क्षेत्रको लाखौँ बजेट खर्च हुँदैछ ।(तस्वीर अनिता लामाको फेशबुकबाट साभार)