- सार्वजनिक जग्गा विशेषः २
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाकाको सबैभन्दा सानो वडा नै वडा नं १२ हो । साविक कपन गाविसको वडा नं १ लाइनै हाल बुढानीलकण्ठको १२ नं वडा बनाइएको हो । क्षेत्रफलले सानो भए पनि जनघनत्वले भने यो वडा बुढानीलकण्ठको एकनम्बर वडा हो । यो वडामा सास फेर्न तथा रूख् हेर्न पर्यो भने मात्र दुइवटा विकल्प छ । १, देवीस्थान मन्दिरमा जाने । २, शंकर थापाको घर कम्पाउण्डमा जाने ।
पूणर्रूपमा ’ओपनस्पेस’ नभएको यो वडाभित्र हाल सार्वजनिक जमिन हेर्दा ५ वटा ठूला सार्वजनिक जमिन देखिन्छन् । साविक कपन १ ग कित्ता नं १२ बालकुमारी मन्दिर(३ रोपनी २ आना), साविक कपन १ ग कित्ता नं १६ (पाँच रोपानी ३ आना २ पैसा) उसुक्वान, साविक कपन १ ग कित्ता नं ८१ (६ रोपनी ३ आना २ पैसा) लाखेपोखरी क्षेत्र, साविक कपन १ ग ९५ नम्बर कित्ता(३ रोपनी ८ आना २ पैसा) र साविक कपन १ घ कित्ता नं १९५ (२ रोपनी ६ आना)सुकुम्वासी । योबाहेक पनि हाल वडा कार्यालय रहेको नवदुर्गा मन्दिर क्षेत्रलगायत केही साना क्षेत्रफलका सार्वजनिक जग्गा पर्दछन् ।
उल्लेखित ५ वटा ठूलो क्षेत्रफलको सार्वजनिक जग्गाको अबस्था हाल के कस्तो छ त ? भन्ने कुरा बुढानीलकण्ठ नगरपालिकाको चासो विषय बनेको देखिदैन । नगरपालिकाको मात्र नभै यहाँको विपक्षी दल तथा जनसामान्यको खासै चासो विषय भएकोजस्तो लाग्दैन ।
यी पाँच कित्तामध्ये सविक कपन १ क कित्ता नं १२ भनेको बालकुमारी मन्दिर क्षेत्र हो । यो मन्दिर पुग्दा ३ रोपनी हैन खुम्चिएर २ रोपनी पनि जग्गा पनि देखिदैन । यो जग्गा कसले मिच्यो ? मिच्न दिन सिफारिस गर्ने जनप्रतिनिधि वा प्राविधिक को हो ? भन्ने तहबाट प्रश्न उठेको देखिदैन ।
त्यसैगरी लाखेपोखरीमा बुढानीलकण्ठ पटिको जमिन के कति हो ? त्यहाँ व्यक्तिहरूले व्यापकरूपमा अतिक्रमण गरेर घर कम्पाउण्ड बनाए भनेर चर्चा भए पनि व्यक्तिले गरेको अतिक्रमण के कसो हो ? त्यसको बारेमा वडा, नगरपालिका एवम् जनप्रतिनिधि बस मौन देखिन्छन् । नक्सामा देखिने ६ रोपनी ३ आना जग्गा फिल्डमा कहाँ छ भन्ने बारे एकिन तथ्यांकका लागि कोही पनि अगाडि बढेको देखिदैन । त्यसैगरी उसुक्वान(प्रस्तावित वडा कार्यालय भवन) भएको ठाउँमा देखिने पाँच रोपनी ३ आना जग्गामा व्यापकरूपमा अतिक्रमण भएको भनेर वर्षौँदेखि आवाज उठे पनि यसमा स्थानीय जनप्रतिनिधि मौन नै देखिन्छन् । यस वडामा २०७४ सालदेखि शम्भुप्रसाद भट्टराई वडाध्यक्ष छन् ।