काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनका कारण छटपटिमा छन् । महामन्त्री थापाको प्रतिवेदनमा गठबन्धनबारे सहमति खोज्न छलफलमा जुटेका देउवाले अन्ततः गठबन्धन नगर्ने शब्द हटाउन सकेनन् ।
लामाे रस्साकस्सीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाएका छन्। सोमबार अपराह्नदेखि बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो।
महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए।
पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानिलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेका थिए। यसले देउवालाई समझदारीमा आउन दबाब पुगेको थियो। ‘कार्यकर्ता उत्साहित बनाउन नसक्ने, भोलिको चुनाव कांग्रेस एक्लै लड्छ भन्न नसक्ने?’ भन्दै केही नेताहरूले सभापति देउवालाई प्रश्न सोधेका थिए।
जारी कांग्रेस महासमिति बैठकमा मंगलबारबाट प्रतिवदनमाथि छलफल गर्ने कार्यसूची छ । पार्टीको विधि बनाउने भनिएको महासमिति बैठकमा पेस गर्ने दस्तावेजमै नेताहरुबिच दन्तवझान चुलिएपछि महासमिति बैठक कर्मकाण्डीमा सीमित हुने त होइन ? भन्ने प्रश्न उठ्न थालेकाे थियाे ।
दस्तावेजले सभापति देउवा तनावमा पर्नुको कारण भने प्रधानमन्त्री पदसँग जोडिएको छ । महामन्त्री थापाको प्रतिवेदन नसच्चाई महासमितिबाट पारित भएमा मुखैमा आएको प्रधानमन्त्री पद गुम्ने भय देउवामा छ । सोही कारण उनी भविष्यमा हुने चुनावमा अहिले नै गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा निर्णय गर्न उपयुक्त नभएको बताइरहेका थिए । अहिले नै यसबारे निर्णय गर्दा हालको राजनीतिक समीकरण नै परिवर्तन हुनसक्ने देउवाको बुझाई छ ।