काठमाडौँ । काठमाडौँमा खाजाघर(रेस्टुरेन्ट) भित्र यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्बाराहीस्थित खाजाघरमा महिलाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा खोटाङ दिक्तेलकी सीता कुमारी खत्री राईलाई प्रहरीले पक्राउ गरेको हो।
सोही ठाउँमा बस्ने ४० वर्षीया सीताले किराना पसलसँगै नाम नराखी सञ्चालन गरेको खाजा घरमा महिलाहरूलाई विभिन्न परिबन्धमा पारी ग्राहकहरूसँग यौन सम्पर्क राख्न लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। त्यस्तै सोबापत सीताले केही रकम आफूले राखी केही रकम महिलाहरूलाई दिने गरेकी पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त खाजाघरबाट एक महिलाको उद्दार गरिएको छ भने एक ग्राहकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का, हाल कागेश्वरी मनोहरा वडा नम्बर ८ बस्ने २८ वर्षीय नैनराज कठेत छन्।
सीता र नैनराज दुवैलाई मानव बेचबिखन सम्बन्धी कसूर मुद्दामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।