काठमाडौं । हत्तपत्ति नेता कार्यकर्ताकालागि भनेर प्रशिक्षणजस्ता गतिबिधि नगर्ने पार्टीका रूपमा चिनिने नेपाली कांग्रेस पछिल्ला समय प्रशिक्षण तथा चुस्त संगठनका विषयमा सक्रिय हुन थालेको छ । महामन्त्री गगन थापा पार्टीको संगठन विभागमा सक्रियतासँगै देशैभर सांगठनिक गतिबिधि बढेका हुन् ।
यसैबीच महामन्त्री थापाको चुनावी क्षेत्रमा एक प्रभावकारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेश (ख) ले आयोजना गरेको एक विशेष प्रशिक्षण कार्यक्रममा सहभागि स्थानीय नेताहरूले उर्जा र उत्साह प्राप्त भएको टिप्पणी गरेका छन् ।
क्षेत्र नं ४ मा धेरैभन्दा धेरै सांगठनिक कामहरू गर्दै आएको प्रदेश ख ले स्थानीय क्षेत्रका नेता एवम् पार्टी र भातृ संगठनका पदाधिकारीका लागि आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रममा १५० हाराहारीको उपस्थिति रहेको थियो । फागुन ५ गते सम्पन्न सो प्रशिक्षण कार्यक्रममा केन्द्रबाट सहमहामन्त्री बद्रि पाण्डे उपस्थित भएका थिए । पाण्डेले समसामियक राजनीतिक परिस्थिति एवम् स्थानीय नेताहरू जनतामा कसरी जाने बारे आफ्नो कार्यक्रम प्रस्तुत गरेका थिए ।
स्थानीय सूर्य क्याटरिङमा भएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा विसुकुमार केसी, महासमिति सदस्य कृष्ण रिजाल, क्षेत्रीय सचिव दामोदर भट्टराइ, प्रदेश क सचिव गोपाल आचार्यलगायतले भिन्न भिन्न विषयमा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रशिक्षण कार्यक्रम सफल भएकाप्रति सबै नेता तथा उपस्थितहरूप्रति प्रदेश ख कमिटिले आभार व्यक्त गरेको छ । प्रदेश ख कमिटिकातर्फबाट सभापति रामप्रसाद लुइँटेल भने, “कार्यक्रमले हामीलाई थप उर्जा प्रदान गर्दै थप उत्साहका साथ जिम्मेवारी पनि थपेको छ । अब प्रत्येक वडामा यस्तै कार्यक्रम लिएर आउने प्रतिवद्धता व्यक्त गर्न चाहान्छौं ।”