जन्मदर्ता सिफारिस लगायतको प्रमाणपत्र किर्ते गरी अर्काकी छोरीलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह कारबाहीबाट जोगिन विभिन्न शक्तिकेन्द्र धाइरहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका मेयर सिंह कारबाहीबाट जोगिन शुक्रबार दिनभर जसो सिंहदरबारका विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा प्रधानमन्त्री कहाँ पुगेका थिए।
सिंहदरबार पुगेका मेयर सिंहले नागरिकता, जन्मदर्ता लगायतको किर्तेबाट जोगाए जसपा परित्याग गरी यहाँकै पार्टीमा पार्टी प्रवेश गर्ने वाचा सहित विभिन्न मन्त्रालय धाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। मेयर सिंहले वीरगंज उप–महानगरपालिका हुँदा २०७१ कार्तिक २० गते स्थानीय पञ्जीकाधिकारीको किर्ते हस्ताक्षर र किर्ते छाप गरी आफै बाबु बनेर रिता श्रेष्ठ नाम गरेकी महिलालाई आमा बनाएर २०५९ असार ३० गते जन्म भएको रुबीना श्रेष्ठलाई किर्ते जन्म दर्ताबाट छोरी बनाएका थिए।
उक्त किर्तेमा समेत नेपाली र अङ्ग्रेजी जन्मदर्ता प्रमाणपत्रमा पञ्जिका अधिकारी भिखारी रायको हस्ताक्षर फरक–फरक छन् जसलाई पञ्जिका अधिकारी राय आफैले आफ्नो किर्ते हस्ताक्षर मेयर सिंहले गरेको बयान दिएका थिए। किर्ते माथि किर्ते गरेका मेयर सिंहको अनुसन्धान चलिरहेकै दैरानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोज यादव, नेकपा एमाले, नेपाली कांग्रेस लगायतका वरिष्ठ नेता लगायतसँग हारगुहार गरिसकेका छन्।
किर्ते गरेका मेयरको कारबाही प्रक्रियामा के भयो ?
संचार माध्यममा पुस २४ गते अर्काकी छोरीलाई नागरिकता बनाइदिएका मेयर सिंहको समाचार आएपछि त्यसको २ दिनपछि विभिन्न १६ जनाले दिएको जाहेरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो।
समितिले ५ दिन भित्र प्रतिवेदन बुझाउने भनिएको थियो। तर समितिको म्याद सकिसक्दा पनि कुनै प्रतिवेदन नबुझाई फौजदारी कसुरदार मेयर सिंहको लोक रिझाईमा खुलेर छानबिन समितिका संयोजक शिव लम्साल नै लागेका तस्बिरहरू छ्यापछ्याप्ती भएको थियो।
छानबिन नियमसम्बत नभएको भन्दै उनलाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा हुँदै प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी, राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी गरेको थियो।
नागरिकता किर्तेबारे अनुसन्धान गर्न प्रशासन कार्यालय पर्साले आन्तरिक रुपमा गठन गरेको छानबिन समितिले कार्यालयकै कर्मचारीहरूको संलग्नता भेटिएपछि थप अनुसन्धानका लागी गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको संयोजकत्वमा दुई सदस्यीय टोली वीरगंज पठाएको थियो।
शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको टोलीले महानगरका मेयर राजेशमान सिंहले किर्ते गरी नागरिकता बनाउँदा संलग्न कर्मचारी तथा सिफारिसकर्ता लगायत कार्यालयबाटै नागरिकताको मूल अभिलेखको फाइल गायब पार्ने कर्मचारीबारे अनुसन्धान गरी गृहको टोली काठमाडौँ फर्केका छन्।
किर्तेको सुरुवाती चरण २०७१ साल कार्तिक २० गते भनेर बनाएको जन्मदर्ता लगायतको प्रमाणपत्रमा पञ्जिीकाधिकारी भिखारी रायको किर्ते हस्ताक्षर गराएर मेयर सिंहले बुझाएको जन्म दर्ताबारे गृहको टोलीले बयान विनै फर्किसकेका छन्।
आइतबार गृहको टोलीले प्रतिवेदन बुझाउने तयारी गरिरहँदा मेयर सिंह शक्तिकेन्द्रमा धाउने कामलाई तीव्रता दिएका थिए। मेयर सिंहले निर्वाचन आयोगले गराएको निर्वाचन प्रक्रियामा भाग लिँदा र लक्ष्मी बैंकमा केवाईसी भर्दा समेत एक मात्र श्रीमती र एक मात्र छोरा रहेको लिखित रुपमा सही छाप गरी बुझाएका छन्।
जबकि मेयर सिंहले गृह समक्षको बयानमा दोस्रो श्रीमती र उनको एक छोरी मेरै रहेको दाबी सहित स्विकारेका छन्। जुन सत्य भने हैन इन्द्रवति गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले टिका प्रसाद भट्टराईकी छोरी रिता भट्टराईले पहिलो पटक बिहे गरेको श्रीमानबाट एउटा छोरी जन्म भएको र श्रीमानले छोडेपछि हाम्रो सम्पर्कमा उहाँहरू नरहेको बताएका छन्।
यति मात्र नभई छोरी समेत स्विकारेका मेयर सिंहका एक मात्र श्रीमती भनेकी अन्नपुर्णा मनान्धरले आफैले एउटा मात्रै छोरा रहेको छोरी नरहेको स्विकारिसकेकी छिन्। केवाईसी र निर्वाचन कार्यालयमा एउटा श्रीमती र एउटा छोरो स्वकार गरेर किर्ते नागरिकता बाहिर आएपछि गृहको समक्ष दोस्रो श्रीमती स्विकार्नु भनेको निर्वाचन प्रक्रियालाई ढाँट्नु हो यस विषयमा समेत संवैधानिक इजलासमा उजुरी पर्दा उनीमाथि अर्को कारबाही प्रक्रिया चल्न सक्ने निर्वाचन कार्यालयको भनाई रहेको छ।
मेयर सिंहले दोस्रो श्रीमती स्वीकार गरेको २४ घण्टा नबित्दै रिता भट्टराईको नाममा जिल्ला अदालत पर्सामा मेयर सिंहसँग छोड पत्रको निवेदन दिएकी थिइन। उनले दिएको निवेदनमा मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने उल्लेख छ।
‘प्रमाणित भएमा’ यो शब्दले के भन्छ भने रुबिना उसको छोरी भएको अन्य प्रमाण उसङ्ग छैन। छ भने जन्मदर्ता जुन प्रमाण फर्जी हो। मेयरले कानुनी दाऊपेचमा अदालतबाट छोड पत्र गराएर दोस्रो श्रीमतीबाट छोड पत्रको प्रमाणपत्रले कानुनी रुपमा दोस्रो श्रीमती बनाउन खोजेका थिए।
जिल्ला अदालत र गृह मन्त्रालय टोली समक्ष जन्मदर्ता, नागरिकता लगायतका प्रमाणको नक्कल दिएका मेयर सिंहले सही छाप गरेर पठाएका अधारमा उनी आफ्नै दाऊमा फसेका छन्। हुँदै नभएको छोरीलाई नागरिकता दिलाएका मेयर सिंहको बचाउमा सरकार आफै लागेकाले जोगिँदै आएका छन्।नागरिक