काठमाडौं खबर फाल्गुन ५, २०८०
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १२ ले फागुन ३ गते प्रकाशित गरेको एक सूचना अहिले व्यापक चर्चाको विषय बन्दै भाइरल भएको छ । वडाले आफ्नो लेटर प्याडमा दर्ता सहयोगीका लागि दरखास्त आव्हानसम्बन्धि सूचना प्रकाशित गरेको यो विषय यसकारण भाइरल भयो कि पत्रमा लेखिएको थियो, “फागुन महिनाको १ गतेभित्र कार्यालय समयमा निवेदन पेश गर्न सूचनामार्फत जानकारी गराइन्छ ।”
बुढानीलकण्ठ नगरपालिका यस्ता उट्पट्याङ टाइपका समाचार बन्न माहिर मानिन्छ । उपत्यकामै कम शैक्षिक योग्यता भएका जनप्रतिनिधिहरुको नगरपालिका भनेर बदनाम भएको बुढानीलकण्ठमा जनप्रतिनिधि जनताका कामभन्दा राजनीति बढी गर्ने भनेर आलोचित छन् । यद्यपि यो सूचना वडा सचिवको दस्तखतमा सार्वजनिक भएको हो । यस वडामा शम्भुप्रसाद भट्टराई वडाध्यक्ष छन् ।