

काठमाडौं । पशुपति क्षेत्रअन्तर्गत जयवागेश्वरी मन्दिर परिसरमा काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा काठमाडौँ ग्वलः अर्केष्ट्रा २०८० आयोजना हुने भएको छ ।
काठमाडौँ महानगरपालिका तथा विभिन्न बाजागाजा संरक्षणमा सक्रिय चौधबाट क्लबहरूको सहभागिता रहने ग्वलः अर्केष्ट्रा २०८० का बारेमा कार्यक्रम संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का आशामान संगतले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
२०८० फागुन ५ गते शनिबार दिउँसो ३ बजे आयोजना गरिने अर्केष्ट्रामा विभिन्न ग्वल क्षेत्र लगायतका स्थानीय क्लब, संघसंस्था, बाजा खलः, पुचः तथा टोलहरू कार्यक्रमा सहभागी रहने छ । वडाध्यक्ष संगतले युवापुस्ता केन्द्रीत बाजागाजाको संरक्षणार्थ ग्वलः क्षेत्रको पहिचानका लागि ग्वलः अर्केष्ट्रा आयोजना गरिएको बताएका छन् । अर्केष्ट्रामा १५० भन्दा बढि कलाकारहरूको सहभागिता रहेको छ । अर्केष्ट्रामा एउटै मञ्चबाट विभिन्न बाजाहरू मार्फत विभिन्न धुनहरू प्रस्तुत गर्न लागिएको हो ।
विभिन्न नेवारी पहिचान, बस्ती, आफ्नै कला, संस्कृति, बाजागाजा, मौलिकपन, परम्परागत धुन, धार्मिक स्थल मठमन्दिरको संरक्षणका लागि ग्वलः क्षेत्रमा रहेका नौवटा पौखरी, नौवटा ढुङ्गेधारा, नौवटा जात, नौवटा इनार, नौवटा ढोका, नौवटा टोल, नौवटा शक्तिपिठ, नौवटा पाटिपौवा तथा नौवटा डवलीको संरक्षणका लागि अर्केष्ट्रा आयोजना गरिएको हो । अर्केष्ट्रा मार्फत यी क्षेत्रको पहिचानलाई विश्वमाझ झल्काउने प्रयत्न गरिएको संगतले बताए ।
कार्यक्रममा करिब एक हजार व्यक्तिको सहभागीता रहने अनुमान गरिएको छ । त्यस्तै, कार्यक्रममा प्रशिक्षकका रूपमा शिव कुमार संगत एवं बाजा गुरू राजेश संगत रहेका छन् भने, सहायक प्रशिक्षकहरू मार्फत कलाकारहरू तयार गरिएको छ । अर्केष्ट्रा मार्फत विभिन्न संस्कृतिलाई विश्वमाझ झल्काउने मुख्य उद्देश्य रहेको छ ।