काठमाडौं । सत्ता गठबन्धनमा धमिरा लागेको चर्चा चलिरहेको छ । बिबिध खाले विषयले वर्तमान सत्ता गठबन्धन फागुन महिनासम्मका लागि मात्र मेहमान बन्न सक्ने भनेर आँकलन गरिन थालेको बेला कारणहरूकोखोजी पनि हुन थालेको छ । सत्ता गठबन्धनका खटपटका बारेमा औपचारिक रूपमा प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमै संकेत गरेका छन् । माओवादी केन्द्रीय कमिटीको बैठकमा कांग्रेससँगको सहकार्य सहज नभएको स्वयम् प्रचण्ड तथा बाँकी कतिपय नेताले खुलेर बोलेका छन् ।
केन्द्रीय नेताहरूलाई प्रचण्डले किन त्यसो भने भन्ने कुरामा चाहिँ धेरैको आशंका छ । पछिल्ला दिनमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच अविश्वास बढ्न थालेको छ । त्यसको संकेत कांग्रेसका नेता मात्र होइन, माओवादी नेताहरूले सार्वजनिक रूपमा बोलेरै दिन थालेका छन् । खासगरी, पछिल्ला दिनमा राष्ट्रियसभा चुनाव र मन्त्रीहरूको हेरफेरको विषयमा प्रचण्ड र देउवाबीच कुरा मिल्न सकेको छैन । त्यसैले, प्रचण्डको अभिव्यक्तिलाई रणनीतिक रूपमा पनि हेर्न थालिएको छ । प्रचण्डले एमालेसँग सहकार्य गर्ने परिस्थिति निर्माणको प्रयासका लागि कांग्रेसको प्रतिक्रिया बुझ्ने अर्थमा पनि विश्लेषण भइरहेको छ ।
सरकारको आयुका बारेमा थुप्रै विषयले घर बनाए पनि कांग्रेसका दुइ नेता हाल मन्त्री रहेका मोहन बस्नेत अनि पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की फस्दै गरेको टेरामक्स काण्ड पनि एक हो । यस काण्डबाट बस्नेत र कार्कीलाइ बचाउन कांग्रेस सभापतिकी पत्नीले ओलीसमेत भेटेको विषयले गठबन्धन गभ्मीररूपमा सशंकित भएको बताइएको छ ।
गत ८ माघमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुबीच बालकोटमा भेटवार्ता भएको थियो । ओली र आरजुको यो भेटमा प्रचण्ड नेतृत्वको सरकारको विकल्पका बारेमा कुरा भएको गम्भीररूपमा चर्चा छ । त्यतिबेलाको भेटमा मुख्यतया हाल स्वास्थ्य मन्त्री रहेका मोहनबहादुर बस्नेत र पूर्वसञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की जोडिएको नेपाल टेलिकमको टेरामक्स काण्ड अनुसन्धान प्रक्रियासँग सम्बन्धित भएर ओली र आरजुबीच गम्भीर कुराकानी भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेको उक्त प्रक्रियाबाट सेटल खोज्ने प्रयासअन्तर्गत आरजु र ओलीबीच भेट भएको थियो । उक्त भेटमा राणाले आफ्ना नेताहरू बचाउने पक्कापक्की भएमा गठबन्धन फेर्न सकिने वचन ओलीलाई दिएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । यो प्रशंगले प्रचण्ड तथा माओवादीभित्र कांग्रेस सँगको सहकार्य सहज नभएको चर्चा हुन थालेको हो।
त्यसो त कोशीमा माओवादी उम्मेदवारलाइ कांग्रेसले भोट नदिएर हराउनु अनि कृष्ण सिटौलालाइ एमालेकोभोट आउनुदेखि राष्ट्रिय सभा अध्यक्ष को बन्ने कुराले कांग्रेस र माओवादीबीच द्वेष बढाएको छ । साथै अरूण चौधरी पक्राउ काण्डले पनि कांग्रेस र माओवादीबीच वेमेल सुरू भएको छ ।
- आकाश सर्मा