मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने १०६ वर्ष पुरानो चुरियामाई सुरूङमार्गको मर्मतसम्भारको काम सकिएको छ। नेपालकै पहिलो मानव निर्मित मानिने यो सुरूङ बागमती प्रदेशको राजधानी हेटौंडा उप-महानगरपालिका १५ स्थित चुरियामाई क्षेत्रमा छ। लामो समयदेखि प्रयोगमा नआउँदा यो सुरूङ मार्ग जीणर् बनेको थियो।
इतिहास बोकेको यो सुरूङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशले मर्मतको योजना बनाएको थियो। सुरूमा २० मिटर सुरूङ भासिएको अनुमान गरिएको थियो। तर मर्मतका क्रममा ४० मिटर भासिएको पाइएको उनले बताए। सुरूआतमा सुरूङको कुल १९८ मिटर मर्मत गर्नुपर्ने अनुमान थियो। तर काम गर्दै जाँदा मर्मतसम्भार गर्नुपर्ने सुरूङको लम्बाई बढेको निर्देशनालयले जनाएको छ।
राणाकालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा बारा र मकवानपुर जिल्लाको सिमानामा रहेको चुरे पहाडलाई खोपेर यो सुरूङ बनाइएको थियो। त्यसबेला रक्सौल नाका हुँदै काठमाडौं सामान ओसार्न सहज होस् भनेर सुरूङ बनाइएको थियो। राणाकालमा रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल आउँथ्यो।
अमलेखगन्जबाट मकवानपुरको भीमफेदीसम्म सडकमार्ग थियो। सडकबाट चुरे पहाड हुँदै हेटौंडा छिर्नुपर्थ्यो। चुरे पहाडबाट घुमाउरो बाटो र लामो समय लाग्ने समस्या हुने भएकाले त्यसको विकल्पमा सुरूङ निर्माण गरिएको थियो। त्यसबेला सुरूङको उद्देश्य व्यापारिक दृष्टिकोणले महत्वपूणर् रहेको भारतको रक्सौल र नेपालको सुख्खा बन्दरगाहका रूपमा विकास गर्न सकिने भीमफेदीमा सहज पहुँच निर्माण गर्ने थियो।
सुरूङ मार्ग हुँदै सवारी चल्थे। मालबाहक सवारी साधनले भीमफेदीसम्म सामग्री ओसार्थे। भीमफेदीबाट मानिसहरूले बोकेर सामान काठमाडौं ओसार्थे। लामो समय सुरूङ प्रयोगविहीन भयो। पछि सुरूङबीच खण्ड भत्काएर त्रिभुवन राजमार्ग बनाइयो। लामो समयदेखि मर्मत सम्भारको पर्खाइमा रहेको उक्त सुरूङलाई प्रदेशले अघि बढाएको हो।