काठमाडौं खबर फाल्गुन १, २०८०
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिठाई बाँड्ने घोषणा गरेका छन् । पार्टीको मधेश प्रदेश समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले आफ्ना पूर्वसहकर्मीसमेत रहेका ओलीलाई व्यंग गर्दै त्यस्तो बताएका हुन् । अध्यक्ष नेपालले ओली सुध्रिने कुनै सम्भावना नरहेको पनि दाबी गरे ।
अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएका कारण आफू एमालेबाट अलग हुनुपरेको उनको भनाइ थियो । नेपाले भने, ‘ओलीमा अहिले पनि अहंकारवादी चिन्तन भरिएको छ, सुध्रिने कुनै सम्भावना छैन । ओली सुध्रिए भने म मिठाई बाँड्छु ।‘ एकीकृत समाजवादी स्थापना गर्दा आफूलाई छाडेर ओलीतिर लाग्नेहरूको अहिले बिजोग भएको पनि नेपालले बताउनुभयो । उनले थपे, ‘उनीहरूको अहिले एमालेमा बेहाल भएको छ ।‘