काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नहुने भएका छन् ।अभियानको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा अभिनन्दन गर्ने भन्दै अभियानले निम्तो दिएको भए पनि पूर्वराजा शाह त्यसमा सहभागी नहुने भएका हुन् ।
प्रसाईंले आफ्नो अभियानको वार्षिकोत्सव समारोह काठमाडौँको भृकुटीमण्डपमा गर्दै छन् । कार्यक्रममा सबै राजनीतिक दलका नेता तथा स्वतन्त्र व्यक्तित्वहरूलाई पनि बोलाइएको छ ।
त्यही कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गर्न अभियानको उपत्यका समितिले विभिन्न तयारी गरेको थियो । शाहकै हातबाट द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम थियो । अभिनन्दनका लागि ताम्रपत्रसमेत तयार गरिसकिएको थियो ।
तर, पूर्वराजा शाह भने प्रसाईंको अभियानको पूर्वसन्ध्यामा आइतबार नै चितवनतिर लागेका छन् । सोमबार पनि उनी चितवनमै छन् ।