बाराहीलाई अजिमा माता पर्वतीका नौ दुर्गाको रुपहरु मध्य एक मानिन्छ । सृष्टिको स्थिति राख्न असुरहरुको बिनास गरि शान्ती सुरक्षा प्रदान गर्न माता पर्वतीले यो रुप धारण गरेको भन्ने गरिन्छ । उपत्यकामा प्रमुख चार बाराही पिठ रहेको छ । १. निलबाराही २. बज्रबाराही ३. धुमबाराही ४.श्वेत बाराही
४ बाराहीमध्ये राजा बिष्णु गुप्तद्वारा स्थापित यस निलबाराही भक्तपुर जिल्लाको मध्यपुर नगरपालिकाको बोडेको तिगनी भननेमा अवस्थित रहेको छ । निलबाराही एक शक्ति पिठ रहेको कारणले दशैंको दिन मेला लाग्ने गर्दछ भने बिस्का जात्राको दिन पनि विशेष पुजा हुने गर्दछ । अरु मन्दिरहरु भन्दा छुट्टै स्वरुपको यस मन्दिरमा गजुर भने छैन ।
नागको छत्रले छोपेको यस मन्दिरको चारै तिर पाटी रहेको छ । नेपाल भाषामा निलबाराहीलाई तिङ्ग बाराही भन्ने गर्दछ भने यस परिसरलाई तिङ्गणी भनिन्छ । यस देवीलाई उपत्यकाबासीहरुले धनदेवीको रुपमा पुजा आजा गर्ने गर्दछ ।
यस देवीको पुजा गर्नाले धन सम्पतिको अभाव नहुने भनने मान्यता रहि आएको छ । उपत्यकामा बरबधुको बिबाह पश्चात् यस देवीको अनिवार्य पुजा गर्ने प्रचलन पनि रहि आएको छ । सहरको कोलाहलबाट टाढा रहेको, शान्त बाताबरण तथा सल्लाधारीको माझमा अवस्थित यस निलबाराही मन्दिर परिसरमा पिकनिक आउनेहरुको ठूलो घुइँचो लाग्ने गर्दछ । शनिबार, मंगलबार र बिहिबार देवीको दर्शन गर्ने आउनेहरुको हुल लाग्ने गर्दछ भने होलिको अघिल्लो एक महिना दिनहुँ भिडभाडका साथ पुजा गर्ने तथा बलि दिने गरिन्छ ।
सागर श्रेष्ठ