काठमाडौं, २६ माघ । नेपालमा ‘स्ट्रेन्थ लिफ्टिङ्ग’ क्षेत्र पनि बिस्तारै खेलको रुपमा विकसित हुँदैछ । देशैभर स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुन थालेका छन् भने खेलाडिहरू पनि उत्पादन भैरहेका छन् । यसैबीच काठमाडौंको बुढानीलकण्ठ (कपन)मा देशव्यापी स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । स्ट्रेन्थ लिफ्टिङ्ग संघ, काठमाडौंले एक पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगिता आगामी फागुन २५ र २६ गते आयोजना हुनेछ ।
स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका अध्यक्ष सन्दीप केसीले पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए । उनले प्रतियोगिताको उद्धेश्य खेलाडीलाई अगाडि बढाउनु रहेको बताए । केसीले नेपाल सरकारले खेलाडीहरुको हितका लागि केही गर्न नसकेको अबस्थामा आफूहरुले खेलाडीको हक हितमा प्रतियोगिता आयोजना गर्न लागेको बताएका थिए । यसरी स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिताको गर्दा बढीभन्दा बढी राष्ट्रिय खेलाडी तयार हुने बताउँदै अध्यक्ष केसीले रप्रतियोगिताको अनुमानित लागत १५ लाख रहेको बताएका थिए ।
अनुमानित लागतमध्येबाट १० लाख खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप वितरणमा प्रयोग हुनेछ भने बाँकी रकम आयोजनाका अन्य खर्चमा लगानी गरिने बताइएको छ । काठमाडौंभन्दा बाहिरबाट सहभागी हुने खेलाडीको लागि दुई दिनका लागि खाने, बस्ने व्यवस्थासमेत गरिएको छ ।
स्ट्रेन्थ लिफ्टिङ्ग खेल जिमसँग सम्बन्धित खेल हो । यस प्रतियोगिता महिला, पुरुष गरी चार सयभन्दा बढी खेलाडीहरु सहभागी हुने स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका सचिव मानबहादुर पहरीले बताए । पत्रकार सम्मेलनमा अध्यक्ष केसी, सचिव पहारीसहित स्ट्रेन्थ लिफ्टिङ्ग अन्तर्राष्ट्रिय संघका सदस्य जीवन गिरी, स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंकी उपाध्यक्ष बन्दना थापा, खेलाडी केदारमान स्थापितलगायतको उपस्थिति रहेको थियो ।