काठमाडौं । बुढानीलकण्ठ क्षेत्र विकास समिति बनेको छ । लामो प्रतिक्षापछि बनेको क्षेत्र विकास समितिको रूप, रंगले जनसामान्यलाई किञ्चित प्रभाव पार्ने खालको भने छैन । क्षेत्र विकास समितिका नाममा एउटा पार्टीका कार्यकर्ताको जत्था मात्र देख्दा सर्वसाधारणलाई कुनै ‘मज्जा’ नआए पनि मन्दिरका महन्थ निगमानन्दलाई पनि ठूलै असर परेको छ । विदुरबिक्रम खड्कालाई अध्यक्ष बनाएर नगरपालिकाले पठाएको खबरसँगै ‘महन्थ निगमानन्दको निद उड्यो’ भनेर मन्दिर परिसरमा गाइँगुइँ चलेको थियो ।
बुढानीलकण्ठ नगरपालिकाले बिदुरबिक्रम खड्कालाई क्षेत्र विकास समितिको अध्यक्ष बनाउनुको पछाडि निगमानन्दसँग ‘पङ्गा’ लिन नै खोजेको आशय बुझ्न सकिन्छ । नगरपालिकाभन्दा आफू माथि भन्ने भ्रम र आडम्बरग्रस्त निगमानन्दलाई तह लगाउनकै लागि बिदुरबिक्रम खड्कालाई विकास समिति जिम्मा लगाएपछि द्वन्द्व बढ्ने प्रशस्त संकेत पनि देखिएका छन् ।
खड्कालाई क्षेत्र विकास समिति ज़िम्मा लगाएपछि निगमानन्दले आफू निकटका शक्तिहरूसँग यो निर्णय फिर्ता पठाउन सकिन्छ कि भनेर प्रयास पनि गरेको देखिन्छ । बुढानीलकण्ठ निवासी अख्तियरका सदस्यसँगको हिमचिमलाई निगमानन्दले बेलाकुबेला प्रयोग दुरूपयोग गरेको हल्ला चल्ने पनि गरेको छ । बिदुर बिक्रम खड्कालाइ क्षेत्र विकास समिति जिम्मा लगाएपछि निगमानन्दले स्वभाविकरूपमा आफ्ना शक्तिकेन्द्रहरुमा कुरा गरेर नै हल्लाहरू निस्किएका हुन् । क्षेत्र विकास समिति बनेको भोलिपल्ट नै निगमानन्दले अख्तियार गुहारे भनेर हल्ला चलेको थियो ।
गुठी संस्थानको सामान्य तहका कर्मचारीको हैसियत राखेर संस्थानका तर्फबाट मन्दिर संरक्षण प्रतिनिधिका रूपमा रहने बुढानीलकण्ठ मन्दिरका महन्थ निगमानन्द क्षेत्र विकास समितिलाई कहिल्यै पनि रूचाउने गर्दैनन् । महन्थकै कारण मन्दिरमा तीन तीनवटा समितिहरू सक्रिय रहेको स्थानीय बताउछन् । ‘फुटाउ र राज गर’ भन्ने शैलीमा महन्थ निगमानन्दले स्थानीयहरूबीच राजनीति गरिरहेका देखिन्छ ।
नगरपालिकाले क्षेत्र विकास समितिको अध्यक्ष बनाएर पठाएका बिदुरबिक्रम खड्का र निगमानन्दबीच यसअघि पनि सुमधुर सम्बन्ध रहेको देखिदैन । दुवैजनाको स्वभाव ‘एग्रेसिभ’ भएका कारण पनि निगमानन्द ‘हार गुहा’रमा लागेको हुनसक्ने अनुमान गर्न सकिन्छ । निगमानन्द कुनै पनि मूल्यमा क्षेत्र विकास समितिसँग बाँधिन चाहँदैनन् । यसअघि पनि निगमानन्द कुनै पनि क्षेत्र विकास समितिसँग बाँधिएका थिएनन् । क्षेत्र विकास समितिलाई नै आफ्ना कारिन्दा बनाउन खप्पिस निगमानन्द कतै बिदुर खड्कालाई कारिन्दा बनाउन सकिदैन कि भन्ने त्राशमा देखिन्छन् । उनका हारगुहार बिदुर खड्कालाई निस्तेज बनाउनु र राज गर्नु नै हो ।
बिदुर खड्कालाई निस्तेज पार्ने सहज हतियारको खोजी मा रहेका निगमानन्दले क्षेत्र विकास समितिसँग भेट पनि गरेका छैनन् तथा बधाइसमेत दिएका छैनन् । यसले सुरूवातमै क्षेत्र विकास समिति र महन्थबीच द्वन्द्व सुरू भैसकेको छ ।
क्षेत्र विकास समितिको अध्यक्ष हुनुपूर्व पनि हरेक दिन मन्दिर क्षेत्रमा पुग्ने बिदुर खड़का क्षेत्र विकास समितिको अध्यक्ष भएपछि पनि दैनिक मन्दिर पुगिरहेका छन् । अध्यक्ष भएपछिका बिदुर खड्का निगमानन्दको शक्ति, सत्ता र अहंकारको आगोले जल्नेछन् वा यसअघि उनले भन्ने गरेझैँ ‘यो जोगीको चुरीफुरी झार्नुपर्छ’ भन्ने सोचमा अडिग रहनेछन् त्यो भने समयले नै देखाउला ।
निगमानन्द बारेमा भुक्तभोगीहरूले मात्रै सचारमाध्यमले पनि धेरै कुरा लेखिसकेको छ । यद्यपि सत्ता, शक्ति एवम् आडम्बरको भरमा उनी अझै मन्दिरमै देखिन्छन् । शक्तिका पुजारीहरू उनको आसपास झुम्मिरहेको पनि देखिन्छन् । तर भगवान भक्ति वा आध्यात्मिक रूझान् भएका जो कोहि पनि यिनको चासो गर्दैनन् । सम्भवतः मन्दिरका भगवान् भन्दा आफू शक्तिशाली हुँ भन्ने पार्न उनले आजसम्म चालिरहेको अनेक गोटी अब ओरालो बाटोमा लाग्ने छ ।
- आकाश सर्मा