स्थानीय तहका जनप्रतिनिधिले आफूलाइ राजा सोच्नेदेखि भ्रष्टाचारमा लिप्त हुने विषय आजभोलिका सामान्य विषय हुन् । देशभरका स्थानीय तहमा यस्ता घटना परिघटना आमरूपमा देख्न पाइन्छ । यसैबीचदार्चुलाका एक वडाध्यक्षले आफ्नै पालिकाका लेखापाललाई ज्यान मार्ने दिने धम्की दिएका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय विष्टलाई फर्जी बिल भुक्तानी नगरेको भन्दै मार्ने धम्की दिएका हुन् ।अध्यक्ष डाँगाले लेखापाल विष्टलाई फर्जी बिलको भुक्तानी नगरेको निहुँमा ज्यान मार्ने धम्की दिएको ४ मिनेट ३४ सेकेन्ड अडियो सार्वजनिक भएको छ ।
सो अडियोमा वडाध्यक्ष डाँगाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको एक चेक पनि नकाटेस् है विजयजी चेक काट्यो भने मारिदिउँला, माकसम भन्न लाछु, भोलीदेखि लेखाको काम नगरेस्, लेखामा आएर सल्लाह नगर्ने, काम नगरी हुने हो र मारिदिउँला’ भनेका छन् ।
त्यस्तै, सो अडियोमा लेखापाल विष्ट भुक्तानीका लागि आएको फायल नियमअनुसार नमिल्ने बताएका छन् । तर, अध्यक्ष डाँगा भन्छन्, ‘म किन गरु हाकीम सरसँग सल्लाह ? म कसैलाई पेस गर्दिनँ, तपाइँकाे उपचार गर्छु । अनि पेस गर्छु, तेरो कार्यालयमा वडा नम्बर ५ को अध्यक्षको ताल्चा लाग्छ ।’
तर, वडाध्यक्ष डाँगाले छोटो प्रतिक्रिया दिँदै अडियोमा त्यस्तो नभएको दाबी गरेका छन् । यता, लेखापाल विष्टसँग फोन सम्पर्क गर्दा उनको फोन अफ छ ।