श्री ३ जंगबहादुरले १९१० सालको मुलुकी ऐन जारी गर्दा यसरी राजपरिवारको मोहर छाप लगाई राजीनामा लिएका थिए । श्री ५ राजेन्द्र सत्ताच्युत भइसकेकाले उनको छाप लालमोहरको नभई पहेँलो रंगको केशरी मोहर थियो । तर कतिपयले सत्ताच्युत भएको नभई उनले राजपाट त्यागी योगी भएकाले उनलाई स्वामी महाराज भनिएको पनि भन्ने गरेका छन् । योगी (जोगी) हरूले रातो रङ प्रयोग नगर्ने भएकोले उनको लालमोहरमा पनि पहेँलो प्रयोग गरेको मान्ने गरिएको छ । रातो छापलाई “लालमोहर” भनेजस्तै पहेँलो रङको भएकोले त्यसलाई “केसरी मोहर” भनिएको हो हजुर ।
धेरै नेपाली इतिहासकारहरुले जंगबहादुर राणाको हुकुमी शासनको आलोचना गर्नका लागि उनीहरुले केही शब्द खर्चेका छन्। जसमा राजा सुरेन्द्रको कुनै औपचारिक कार्यक्रममा राजा राजेन्द्रलाई अपमान वा मानमर्दन गर्नका लागि त्यहाँ डाकिन्थ्यो भनेर पनि भनेको सुनिन्छ । वास्तवमा त्यसलाई सहि मान्ने आधार देखिँदैन । तर औपचारिक समारोहमा गद्दीच्युत पूर्व राजालाई समेत स-सम्मान पूर्वक त्यहाँ डाकेर राजा सुरेन्द्रको दाहिनेपट्टि राखिन्थ्यो भनेर नेपाल स्थित ब्रिटिस रेसिडेन्टहरुले उल्लेख गरेका उनीहरूको प्रतिवेदनमा देख्न सकिन्छ।
नेपालले आफ्नो इतिहासमा पहिलोपल्ट जारी गरेको मुलुकी ऎनमा राजा राजेन्द्रको केशरी मोहर समेत प्रयोग भएको देख्दा उनलाई उचित स्थान दिइन्थ्यो भन्ने पुष्टि हुन्छ।