काठमाडौं । नेपाली कांग्रेसले संसद अधिवेशन चल्दासम्म आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुन्जेलसम्म काठमाडौं नछोड्न निर्देशन दिएको हो । यदि छोड्नै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने निणर्य भएको छ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,’यदि अत्यावश्यक जानै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृति गराएरै मात्रै जान पाउने निर्देशन भएको छ।’
यसैगरी कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदको उपस्थिति अनिवार्य बनाएको छ। नेता लेखकले भने, ’सभा र समितिको बैठकमा मन्त्रीहरू अनिवार्य उपस्थित रहने, सांसदको कुरा सुन्ने र सरकारलाई सदनका प्रति उत्तरदायी बनाउनका निम्ति मन्त्रीहरूले गम्भीरताका साथ उपस्थित हुने निणर्य भएको छ।’
बैठकले संसदमा प्रस्तुत गर्न बाँकी रहेका विधेयकहरूलाई संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निणर्य गरेको छ। विधेयक पारित गर्न संसदमा रहेका अन्य राजनीतिक दललाई अपिल गर्ने समेत निणर्य भएको कांग्रेस नेता लेखकले जानकारी दिए। नेपाली कांग्रेसले प्रतिनिधिसभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ ।